थाइल्याण्डका पूर्व प्रधानन्त्री थाक्सिन सिनावात्राका नाममा पक्राउ पूर्जी जारी गरिएको छ । थाइल्याण्डकै एक अदालतको आदेश अनुसार सिनावात्राका नाममा पक्राउ पूर्जी जारी गरिएको हो ।
मानहानी सम्बन्धी एक मुद्दाको सुनुवाईका क्रममा अदालतमा उपस्थित नभएको भन्दै उनीमाथि अदालतले पक्राउ पूर्जी गरेको हो ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार सिनावात्राविरुद्ध थाई सेनाले अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा सिनावात्रामाथि दक्षिण कोरियाली एक पत्रिकालाई दिएको अन्तरवार्तामा सेनाको छवि धमिल्याएको आरोप लगाइएको छ ।
अदालतले मुद्दा स्वीकार गर्दै वादी र प्रतिवादीका प्रमाण जुटाउन सोमबार मुद्दाको पहिलो सुनुवाई तय गरेको थियो । तर उनी उक्त सुनुवाईमा उपस्थित नभएका कारण उनीविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरिएको जनाइएको छ ।
सिनावात्राका वकिलले सिनावात्रा मुलुक बाहिर रहेका कारण अदालतमा उपस्थित हुन नसकेको जिकिर गरेका थिए ।
सन् २००६ मा सेनाले सिनावात्रा नेतृत्वको सरकार अपदस्थ गरेको थियो । (एजेन्सी)