राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अर्घा-रानीगैरामा विशाल जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

गोपाल प्रसाद भट्टराई



अर्घा रानीगैरा, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले नुन र तेलको नाममा नेपाली स्वाभिमानलाई भारतका सामु आत्म सर्मपण गर्न नसकिने बताउनु भएको छ । कोजाग्रत पुर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा आयोजना गरेको विशाल जनसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान संघका केन्द्रिय महासचिव समेत रहेका नेता पुरीले भारतले पटक-पटक नाकाबन्दी गरेर पनि विगतका दिनमा सरकार हाँक्नेहरुले सामान्य विषयमा समेत घुडा टेकेर आत्म सर्मपण गरेका कारण भारतले हेप्ने गरेको बताउनु भएको छ । 

 



 

कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै भारतले लगाएको नाकाबन्दीको विरोधमा लामो समय खर्चिनु भएका पुरीले सरकारमा जाँदा र सत्ता टिकाउन भारतको बैसाकी खोज्ने ठुला दलको हर्कतका कारण नेपाली भुमी स्वाधिन हुन नसकेको भन्दै भारत संग न्यायका आधारमा अघि बढ्न सरकारलाई आग्रह समेत गर्नु भएको छ । 

 



 

लामो समय पछि नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रिय जनमोर्चा सरकारमा जान लागेको प्रसंग कोट्याउदै नेता पुरीले राष्ट्रिय जनमोर्चा केहि पाउनको लागी नभई सरकारका गलत कदम र बैदेशिक हसतक्षेपको विरुद्ध खवरदारी गर्न सरकारमा जान लागेको बताउदै राष्ट्रिय जनमोर्चा सरकार भित्र रहँदा राष्ट्रघातका विरुद्ध दृढताका साथ लड्ने समेत दावी गर्नुभयो । 



६५ बर्षदेखिको संर्घष र बलिदानीले नेपाली जनताले बनाएको नयाँ संविधानमा संघियता र नागरिकताको विषय नेपाल र नेपाली जनताको निम्ती घातक रहेको बताउदै पुरीले संविधानका राम्रा पक्षलाई सकरात्मक रुपमा लिदै गलत कुरालाई हटाउन संर्घष गर्दै आफनो पार्टी संविधान कार्यान्वयन गर्ने पक्षमा  रहेको बताउनु भयो । 

 



 

कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी.ले नेपालका ठुला दल हौँ भन्ने हरुले शिर झुकाएर भारतसंग गरेका १९५० लगायतका राष्ट्रघाति सन्धि सम्झौताको उपज नाकाबन्दी भएको बताउदै यसबाट पाठ सिकेर नेपाली जनता आत्मनिर्भरताको बाटो तर्फ लाग्नु पर्ने बताउनु भएको छ । के.सी.ले नेपालको पुर्वाधार विकास संगै हुने पर्यावरण प्रदुषणलाई रोक्न तर्फपनि ध्यान दिन जरुरी रहेको बाउनु भएको छ । 

 



 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका क्षेत्रिय उपाध्यक्ष शेर बहादुर वि.सी., नेकपा मसाल अर्घाखाँचीका प्रवक्ता थम्मन के.सी.,अखिल छैठौंका केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव बावुराम पन्थी, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य दिनेश खड्का, अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष शकुन्तला राना लगायतले मन्तव्य राख्दै भारतिय हस्तक्षेपका विरुद्ध सम्पुर्ण नेपालीहरु एक हुनुपर्ने समय आएको बताउनु भएको छ । 

 



 

कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय अध्यक्ष तथा जनगायक जिवन शर्माले भू-कम्प बाट भत्केका नेपाली मनहरु माथी भारतले नाकाबन्दी लगाएर ठुलो गुन लगाएको भन्दै नाकाबन्दी विरुद्ध गित गाएर हजारौं दर्शकको मन जित्नुभएको थियो । 

 


 

जनसभा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता सचिव गोपाल पौडेलको स्वागत मन्तव्य र राष्ट्रिय जनमोर्चाका नेता कृष्ण के.सी.को संचालनमा सम्पन्न भएको कार्यक्रम अवलोकन गर्न छिमेकी जिल्ला प्युठान, पाल्पा , गुल्मी ,कपिलबस्तु र रुपन्देहीका साथै अर्घाखाँची जिल्लाका विभिन्न ठाउँहरुबाट हजारौँको सङ्ख्यामा उपस्थित दर्शकहरुलाई रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले गायका मन छुने जनताका गित र नृत्यले मनोरञ्जन प्रदान गरेको थियो ।