भारतमा बढ्दो असहिष्णुता र नागरिक अधिकार दमनको विरोधमा प्रतिष्ठित राष्ट्रिय पुरस्कारहरु फिर्ता गर्नेे लहर

भारतमा बढ्दो असहिष्णुता र नागरिक अधिकार दमनको विरोधमा प्रतिष्ठित राष्ट्रिय पुरस्कारहरु फिर्ता गर्नेे लहर चलेको छ ।
यसरी पुरस्कार फिर्ता गर्ने घोषणा गर्नेको पछिल्लो सूचीमा प्रसिद्ध वैज्ञानिक, डा. पुष्प एम भार्गव परेका छन् । भार्गवलाई सन् १९८६ मा पद्म भूषण पुरस्कारबाट सम्मानित गरिएको थियो । लोकतन्त्रको मार्गमा सरकार नचलेको र निरंकुश मुलुक बन्ने दिशामा अगाडि बढेको आरोप भार्गवले लगाएका छन् ।
यसअघि, बढ्दो असहिष्णुता र साहित्यकार एमएम कलबुर्गीको हत्याको विरोधमा करिब ५० साहित्यकारले साहित्य पुरस्कार फिर्ता गरिसकेका छन् ।
दिवाकर बेनर्जी र आनन्द पटवर्धनसहित १२ चलचित्रकर्मीले राष्ट्रिय पुरस्कार फिर्ता गर्ने घोषणा गरिसकेका छन् । मोदी सरकार धार्मिक संगठनको सहारामा चलेको उनीहरुको आरोप छ ।
सत्तारुढ भारतीय जनता पार्टीले राष्ट्रिय स्वयंसेवक संघको राजनीतिक शाखा बनेर उसको निर्णय कार्यान्वय मात्र गरेको आरोपसमेत पुरस्कार फिर्ता गर्नेहरुले लगाएका छन् । (एजेन्सी)