सिरियाको गृहयुद्धमा अलगअलग पक्षको समर्थन गरिरहेका देशहरुद्धारा युद्ध अन्त्यको दिशामा काम गर्ने प्रतिबद्धता

सिरियाको गृहयुद्धमा अलगअलग पक्षको समर्थन गरिरहेका देशहरुले युद्ध अन्त्यको दिशामा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
सिरियाली संकट समाधानको उपाय खोज्न अस्ट्रियाको भियनामा भएको छलफलमा सहभागी देशहरुबीच राष्ट्रपति बसर अल असदको भविष्यलाई लिएर भने केही सहमति बन्न सकेन ।
बैठकमा अमेरिका, रुस, इरान, टर्की र साउदी अरेबियाका प्रतिनिधी सहभागी थिए । रुसी विदेशमन्त्री सर्गेइ लावरोवले सिरियाको भविष्यका राष्ट्रपति को बन्ने भन्ने विषय सिरियाकै जनताले तय गर्ने बताए ।
उनले छलफलमा सिरियाका राष्ट्रपति असदको भविष्यलाई लिएर केही सहमति नभएको बताए । रुस सिरियाली जनताले राजनीतिक प्रक्रियाको ढाँचाभित्रै रहेर समस्या समाधान गर्नुपर्ने पक्षमा छ ।
तर अमेरिका र उसका सहयोगी देशले भने समस्या समाधान गर्न राष्ट्रपति असदले कुनै पनि भूमिका निर्वाह नगरेको आरोप लगाएका छन् ।
अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाली सरकारप्रति अमेरिकाको दृष्टिकोणमा परिवर्तन नभएको बताए । उनले राष्ट्रपति असदले सिरियाको नेतृत्व गर्न नसक्ने र उनको विकल्प जनताले चाहेको जिकीर गरे ।
संयुक्त राष्ट्र संघले भने सिरियाली सरकार र विपक्षीहरुलाई एउटै राजनीतिक प्रक्रियामा सामेल गराउनुपर्ने बताउँदै आएको छ । सिरिया संकट समाधानका विषयमा दुई हप्तापछि पुनः छलफल हुने बताइएको छ । (एजेन्सी)