इजिप्टको मध्य साइनाईमा दुर्घटना भएको रसियन एयरलाइन्सको विमानमा रहेका दुवै ब्ल्याक बक्स फेला परेका छन् ।
इजिप्टको शर्म अल शेख शहरबाट रुसको पिटसवर्गका लागि जाँदै गरेको ए-थ्री ट्वान्टी वान एअरवस विमानमा सवार सबै २ सय २४ जनाको मृत्यु भएको थियो ।
विमानमा चालक दलका सात सदस्यसहित र २ सय १७ जना यात्रु सवार थिए । इस्लामिक स्टेट आईएसले बिमान खसालेको दाबी गरिएकै बेला फेला परेको ब्ल्याक बक्सबाट बिमान दुर्घटनाबारे थप तथ्य पत्ता लाग्ने अनुमान गरिएको छ ।
बिमान दुर्घटना हुनु केही मिनेट अघि चालकले आपतकालीन अवस्थामा बिमान रहेको भन्दै आपतकालीन अवतरणका लागि अनुमति मागको जानकारी गराएको इजिप्टका पारवहन मन्त्रीले जानकारी दिएका छन् ।
पारवहन मन्त्री होसाम कमलले चालकको भनाई अनुसार आइएसका लडाकुहरुले बिमान खसालेको भन्दै गरेको दाबी गलत भएको प्रतिक्रिया दिनुभएको छ । विमान दुर्घटनास्थलबाट सबैको शव निकालिएको छ ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्र्दै आइतबार एक दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनले दुर्घटनाको अनुसन्धानका लागि आदेश समेत दिएका छन् ।(एजेन्सी)