क्रिकेट खेलाडी सौरभलाई गृह जिल्ला अर्घाखाँचीमा सम्मान

गोपाल प्रसाद भट्टराई / अर्जुन भुसाल 



अण्डर १९ क्रिकेट टोलीका खेलाडी सौरभ खनाललाई गृह जिल्ला अर्घाखाँचीमा सम्मान गरिएको छ ।  जिल्ला खेलकुद विकास समितिले उनलाई नगद र प्रशंसा पत्रले सम्मान गरेको हो ।  केहि दिन अघि मलेसियामा भएको आइसिसि अण्डर १९ वल्डकप क्वालिफियरमा नेपालले उपाधि जितेको थियो । अब नेपालले विश्वकप खेल्न पाउने छ । 



सन्धिखर्क, अर्घाखाँची  ।  “ढूङ्गाको काप फोरेर पनि निस्कन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्लै हुदैन बिफल” कवि शिरोमणी लेखनाथ पौडेलको यो श्लोकलाई सार्थक तुल्याएका क्रिकेट खेलाडी शौरभ खनालको प्रतिभालाई सम्मान गर्दै उनको खेलजगतको आगामी यात्राहरुलाई थप हौसला प्रदान गर्न अर्घाखाँची जिल्ला खेलकुद विकास समितिले आज एक कार्यक्रमका बिच भव्य स्वागत एवम् सम्मान गरेको छ ।

 



 

पश्चिम नेपालको पहाडी जिल्ला अर्घाखाँचीको खन गा.वि.स.मा जन्मिएर नेपाललाई खेलको माध्यमबाट अन्तराष्ट्रिय जगतमा चिनाउने अभियानमा लागेका अण्डर नाइन्टीन क्रिकेट खेलाडी शौरभ खनाललाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रमबाट सम्मानित भएपछि संक्षिप्त मन्तव्य राख्दै खेलाडी शौरभ खनालले आफु आफ्नो जिल्लामा राष्ट्रिय खेलाडी भएर आउँदा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रमबाट पहिलो पटक सम्मानित हुन पाउँदा खेलमा अगाडी बढ्न थप प्रेरणा मिलेको बताउनुभएको छ ।



सन्धिखर्कको कर्मचारी मिलन केन्द्रमा सम्पन्न भएको सम्मान कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका नेताहरुले मन्तव्य राख्दै विश्वको अग्लो चुचुरो सगरमाथा र शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको नेपाललाई हेर्न ब्रमान्डको कुनामा खाज्नेहरुलाई खेल र खेलाडीले चिनाउन सफल भएकोे भन्दै खेल जगतलाई विकास गर्न राज्यले लगानी बढाएर नयाँ योजनाका साथ लाग्नुपर्ने धारणा राखेका छन् ।नेताहरुले  क्रिकेट खेलाडी शौरभ खनाललाई गाउँ-गाउँमा रहेका युवाहरुलाई खेल क्षेत्रमा डोर्याउन आग्रह गर्दै बधाई ज्ञापन संगै आगामी खेल यात्रा अझै उच्च होस भन्ने शुभकामना ब्यक्त गरेका छन् ।यसरी मन्तव्य राख्नेहरुमा नेपाली काँग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, ने.क.पा.एमालेका जिल्ला सचिव राम बहादुर चौहान,ए-माओवादी जिल्ला कोषाध्यक्ष छम कुमारी खनाल,राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल र राष्ट्रिय जनमुक्ती पार्टीका इन्द्र बहादुर गेलेङ्ग लगायतका रहनुभएको थियो ।

 



 

जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले आयोजना गरेको सम्मान कार्यक्रममा जिल्लामा खेल क्षेत्रसंगै जिल्लाको हितमा संचार जगतबाट महत्वपूर्ण कदम चालेको भन्दै जिल्लामा क्रियाशिल पत्रकार र संचारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।सम्मानित हुनेमा नेपाल पत्रकार महासघं जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थी, उपाध्यक्ष हिम बहादुर जि.सी.लेकाली, सचिव प्रेम आचार्य, कोषध्यक्ष गणेश खनाल, सामुदायिक रडियो अर्घाखाँचीका गोपाल प्रसाद भट्टराई, रेडियो देउरालीका सुर्य भुसाल, रेडियो सुर्योदयका हृदय कुमार भुसाल, नयाँ एफ.एमका हरी प्रसाद भुसाल, जितेन्द्र खत्री, रुद्रमणी भुसाल, मुक्तिनाथ भुसाल, नविन के.सी., अर्जुन भुसाल लगायत रहनुभएको थियो ।



कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शौरभ खनाललाई बधाई ज्ञापन गर्दै खेलाडीले म्याच फिक्सीङ्ग जस्तो कु-कार्य गर्नुभनेको राज्यमाथीको कुठाराघात भएकोले नेपाली खेलाडीहरुले त्यस्तो अपराध कहिल्लै गर्न नहुने बताउनुभएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धी प्रसाद भुसालको अध्यक्षता र माधव घिमिरेको संचालनमा सम्पन्न भएको सम्मान कार्यक्रमा प्रहरी नायव उपरिक्षक कमल प्रसाद खरेल,म्याल पोखरी ब्यारेकका उप सेनानी लगायतका बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।