जापानमा ७ रेक्टर स्केलको भूकम्प

जापानमा ७ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाली समय अनुसार शुक्रबार राति दुई बजेर ३६ मिनेट जाँदा जापानको दक्षिण पश्चिमी तटलाई केन्द्र बनाएर सात रेक्टर स्केलको भूकम्प गएको युएस जिओलोजिकल सर्भेले जनाएको छ ।
भूकम्पका कारण ठूलो सुनामी आउने खतरा नरहेको प्यासिफिक सुनामी सेन्टरले जनाएको छ । भूकम्पपछि दक्षिण पश्चिमी तटमा सानो सुनामी भने आएको जापानको मौसम विभागले जनाएको छ ।
त्यहाँ ३० सेन्टिमिटर अग्लो सुनामी आएको विभागले जनाएको छ । तर कुनै खतरा भने नरहेको जनाइएको छ । यसअघि सन् २०११ मा भूकम्पपछि आएको सुनामीका कारण उत्तरपूर्वी जापानमा १८ हजार जनाको मृत्यु भएको थियो ।
सुनामीका कारण विस्थापित भएका दुई लाख ३० हजार नागरिक अझै आफ्नो घर फर्किन सकेका छैनन् । (एजेन्सी)