पेरिस घटनाप्रति आइएसले आफ्नो संलग्नता स्वीकार नगरे पनि खुसी

फ्रान्सको राजधानी पेरिसमा अन्धाधुन्ध गोली प्रहार र विस्फोटमा परी कम्तिमा १ सय २८ जनाको मृत्यु भएको घटना कसले गरायो भन्ने अझै प्रष्ट खुल्न सकेको छैन । फ्रान्स सरकारले घटनालाई आतंककारी हमला भन्दै संकटकाल घोषणा गरेको छ ।
आक्रमणमा विद्रोही संगठन इस्लामिक स्टेटको संलग्नता हुन सक्ने आशंका गरिए पनि पुष्टि भने भएको छैन । आइएसले घटनामा आफ्नो संलग्नता स्वीकार नगरे पनि खुसी व्यक्त गरेको छ ।
उसले सामाजिक सञ्जालमार्फत् विश्वले यो घटनाबाट पाठ सिक्नुपर्ने जनाएको छ । घटनामा तीन आक्रमणकारी मारिएको तथा एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ । आक्रमणका समयमा आक्रमणकारीले अल्लाह अकबर र यो सिरयाको समर्थनमा भन्दै चिच्याएको प्रत्यक्षदर्शीले बताएका छन् ।
राष्ट्रपति फ्रास्वाँ ओलाण्डले आतंकवादी आक्रमणका कारण मुलुकमा संकटकालको घोषणा गर्दै सबै सीमा बन्द गर्न आदेश दिएका छन् ।
पेरिसको बटाक्लान आर्ट सेन्टरनजिक आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गर्दा यो हताहती भएको हो । आक्रमणमा सात जनाभन्दा बढी आक्रमणकारी संलग्न रहेको जनाइएको छ । पेरिसभर त्रासको बातावरण छाएको छ । (एजेन्सी) इमेजखबरमा समाचार छ ।