पेरिस घटनाका जाँचकर्ताहरुले आत्मघाती आक्रमणमा संलग्न एक जनाको पहिचान भएको जनाएको छ ।
२९ बर्षिय फ्रान्सेली नागरिक उमर स्माईल मुस्तफईलाई घटनास्थलमा भेटिएको एक औलाबाट पहिचान गरिएको अनुसन्धानकर्ताले जनाएका छन ।
फ्रान्सको राजधानी पेरिसमा आतंककारी आक्रमणमा १ सय २९ जना मारिएपछि मुलुकभर संकटकाल लगाउँदै तीन दिने शोक घोषणा गरिसकेको छ ।
इस्लामिक स्टेटले जिम्मेवारी लिएको गोली प्रहार र विस्फोटका श्रृंखलाबद्ध आक्रमणमा तीन समूह परिचालित भएको फ्रान्स प्रहरीले जनाएको छ ।
आतंकवादी कुन बाटो भएर पेरिस पसेको तथा क-कस्ले पैसा लगानी गरेको थियो भन्ने पनि पत्ता लागेको दावी गर्दै प्रहरीले आक्रमणकारी मध्ये एक जना फ्रान्सेली नागरिक रहेको जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा बेल्जियममा तीन जना पक्राउ परेका छन् । राष्ट्रपति फ्रास्वाँ ओलान्दले आक्रमणलाई आईएसको युद्धको संज्ञा दिँदै फ्रान्स बाहिरबाट संगठित र योजनाबद्ध ढंगबाट गरिएको आतंकवादविरुद्ध कुनै दया नदेखाइने दृढता देखाउनुभएको छ ।
तीन सय ५० भन्दा बढी घाइते भएको घटनाको विश्वभरबाट निन्दा गरिएको छ । यस घटनालाई सन् २००४ को मड्रिड बम विष्फोटपछि यूरोपकै भीषण आतंककारी आक्रमण मानिएको छ ।
यसअघि जनवरीमा पनि पेरिसमा इस्लामिक बन्दुकधारीले सार्ली हेब्दो पत्रिकाको कार्यालय र सुपरमार्केटमा आक्रमण गरि १८ जनाको हत्या गरेका थिए । एजेन्सी