आइएसका १ सय १६ वटा तेल ट्यांकरमा हवाई आक्रमण

अमेरिका नेतृत्वको गठबन्धन सेनाले सिरियामा इस्लामिक स्टेट आइएसका १ सय १६ वटा तेल ट्यांकरमा हवाई आक्रमण गरी ध्वस्त गरेको छ ।
पूर्वी सिरियामा रहेका आईएसका तेल ट्यांकरलाई लक्षित गरेर अमेरिकी नेतृत्वको सेनाले हवाई आक्रमण गरेको हो ।
आइएसको नियन्त्रणमा रहेको अल्बु कमाल शहरमा भएको हवाई आक्रमणमा तेल ट्यांकरलाई निशाना बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सबै ट्यांकर एउटै हवाई आक्रमणको निशाना बनेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । तेल लोड गरेर हिँड्न लागेका ट्यांकर हवाई आक्रमणको निशाना बनेको गठबन्धन सेनाले जनाएको छ ।
तेलको कालोबजारी आइएसको आम्दानीको मुख्य स्रोत मानिँदै आएको छ । आइएसले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रको तेल उद्योगबाट हरेक वर्ष ५० करोड अमेरिकी डलर लिने गरेको अनुमान छ । (एजेन्सी)