बेल्जियमको ब्रसेल्समा पेरिस घटनाका आरोपी लुकेको आशंकामा गरिएको व्यापक खोज अभियानमा १६ जनालाई पक्राउ गरिएको छ ।
यस क्रममा १९ घरको खानतलासी गरिए पनि कुनै प्रकारको हतियार र विष्फोटक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ ।
गिरफ्तार गरिएकामा अझै पनि मूख्य आरोपी सलाह अब्देस सलाम नपरेको बताइएको छ । ब्रसेल्समा पनि पेरिसमा जस्तै आतंकवादी आक्रमणको चेतावनी आएपछि शनिबार बेलुकादेखि सुरक्षा सतर्कता उच्च पार्दै व्यापक खोजी गरिएको हो ।
ब्रसेल्समै रहेको अनुमान गरिएका सलामलाई पक्राउ गर्न ब्रसेल्समा ठूलो मात्रामा सेना परिचालन गरिएको छ । सोमबार पनि सुरक्षा सतर्कता उच्च रहने बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिचेलले बताएका छन् ।
पेरिस आक्रमणमा संलग्न आक्रमणकारीको खोजी नसकिएसम्म ब्रसेल्समा सुरक्षा उच्च सतर्कता उच्च नै रहने मिचेलको भनाइ छ । आइतबार राति बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सुरक्षा सतर्कता जारी राख्ने निर्णय गरेको हो ।
ब्रसेल्समा सोमबार पनि विद्यालय, विश्वविद्यालय तथा मेट्रो रेल सेवा बन्द रहने छ । ब्रसेल्स शहर पूर्ण रुपमा बन्द गरिएको छ । सलाम भने दोहोरो खोजीमा परेका छन् ।
यूरोपमा प्रहरीहरुका साथै स्वयं इस्लामिक स्टेट आईएसले पनि उनको खोजी गरिरहेको खबर छ । सलामले आफ्नो शरीरमा बाँधिएको विस्फोटक पदार्थसहितको बेल्ट विस्फोट नगराएकोमा बेखुशी व्यक्त गर्दै आईएसले उनको खोजी थालेको हो ।
गएको हप्ता पेरिसमा भएको आतंकवादी आक्रमणमा एक सय ३० जना मारिएका थिए । पेरिस आक्रमणमा संलग्न ९ आक्रमणकारी मध्ये सलाम मात्रै जीवित छन् । (एजेन्सी)