एमनेस्टी इन्टरनेसनलद्धारा साउदी अरबमा एकै दिन ५५ जनाभन्दा बढीलाई मृत्युदण्ड दिन लागिएको भन्दै आपत्ति

मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले साउदी अरबमा एकै दिन ५५ जनाभन्दा बढीलाई मृत्युदण्ड दिन लागिएको भन्दै आपत्ति जनाएको छ ।
आतंकवादी गतिविधिमा संलग्न भएको अभियोग लागेका ५२ जनालाई एकै दिन मृत्युदण्ड दिने साउदी सरकारले निर्णय गरेपछि एमनेस्टीले मानव अधिकार हनन्को पराकाष्ठा भन्दै आपत्ति जनाएको हो ।
साउदी अरबले यही वर्ष मात्रै १५१ जनालाई मृत्युदण्ड दिइसकेको छ, जुन सन् १९९५ पछिको सबैभन्दा बढी हो । मृत्युदण्ड पाउनेमा शिया समुदायका आतंकवादीहरुको संख्या बढी छ ।
मध्यपूर्वका लागि एमनेष्टी इन्टरनेशनलका उपाध्यक्ष जेम्स लेन्चले साउदी अरब सरकार आतंकवादको बहानामा राजनीति प्रेरित भएको आरोप लगाएका छन् । उनले बाल्यवस्थामा आपराधिक गतिविधीमा संलग्न रहेकाहरुलाई समेत मृत्युदण्ड दिइने गरेको बताएका छन् ।
एमनेस्टीको भनाईप्रति साउदी अरब सरकारले कुनै प्रतिक्रिया दिएको छैन । (एजेन्सी)