अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव

घनश्याम पौडेल / कृष्ण परियार
सन्धिखर्क, अर्घाखाँची । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण आज जनजीवन थप प्रभावित भएको छ । त्यसै पनि गाडी नचलेर समस्या भोगिरहेका नागरिकलाई बन्दले झन् सास्ती दिएको छ । 
बन्दका कारण अर्घाखाँचीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन भने शिक्षण संस्था समेत पूर्ण रुपमा बन्द भएका छन् । बजार तथा शैक्षिक संस्था पूर्ण रुपमा बन्द भएपनि बन्दकर्ताहरुले प्रेस, एम्वुलेन्स, दुधका गाडीहरुलाई भने कुनै अवरोध नगर्ने बताएका छन् । 
यसैविच बन्दकर्ताहरुले बन्द सफल बनाउन आग्रह गर्दै हिजो शनिवारसा्ँझ सन्धिखर्कमा प्रदर्शन समेत गरेका थिए । साँझ मसाल जुलुस प्रदर्शन पछि शान्ति बँगैचामा बन्दकर्ताहरुले कोणसभा समेत गरेका थिए । सहरका मुख्य मुख्य चोकको परीक्रमा पछि शान्ति बँगैचामा आएको जुलुसमा माओवादी कार्यकर्ताहरुले भारतीय हस्तक्षेपको आलोचना गर्दै निकै उत्तेजक नारा लगाएका थिए । माओवादी कार्यकर्ताहरुले आदेश देउ विप्लव लड्न हामी तयार छौं लगायतका नाराहरु लगाएका थिए । 
कार्यक्रममा मन्तव्य राख्दै माओवादी नेता योगेन्द्र चौहान र बाबुराम भुसालले भारतीय हस्तक्षेपको विरुद्ध आफ्नो पार्टी डटेर लड्ने उद्घोष गर्दै हस्तक्षेप पूर्ण रुपमा बन्द गर्न आग्रह गरेका थिए ।
आज विहान ५ बजे बाट गरिएको बन्द साँझ ५ बजे पछि खुल्ने नेकपा माओवादी (विप्लव) अर्घाखाँचीले जनाएको छ ।