युरोपियन यूनियन ईयू र टर्कीबीच आप्रवासीको संख्या नियन्त्रण गर्ने विषयमा सम्झौता

युरोपियन यूनियन ईयू र टर्कीबीच आप्रवासीको संख्या नियन्त्रण गर्ने विषयमा सम्झौता भएको छ ।
गैरकानूनी रुपमा युरोप प्रवेश गर्न चाहने आप्रवासीको मुख्य र सजिलो बाटो बनेको टर्कीले अब सीमा क्षेत्रको कडाइ खुकुलो पार्नेछ ।
यसबापत टर्कीले इयूबाट तीन अर्ब डलरको आर्थिक सहायता पाउने छ । टर्कीले भने सीमा क्षेत्रसँग जोडिएको नीति परिवर्तन गर्दै आफ्नो मुलुक हुँदै युरोप प्रवेश गर्ने आप्रवासीलाई टर्कीमै शरण दिनुपर्ने छ ।
यो सम्झौतासँगै टर्कीलाई ईयूमा फेरि सामेल गराइन सक्ने पनि बताइएको छ । प्रधानमन्त्री अहमेत दबुतोग्लुले ईयूसँगको सम्झौता महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
सम्झौतापछि टर्कीका नागरिकले आउँदो अक्टोबरदेखि युरोपका विभिन्न देशमा बिना भिसा आवत जावत गर्न पाउने सम्भावना पनि छ ।
तर यसका लागि टर्कीले केही शर्त पूरा गर्नु पर्ने छ । आप्रवासी सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाका अनुसार यो वर्ष मात्रै सात लाख २० हजारभन्दा बढी आप्रवासी युरोप छिरेका छन् ।
यसमा अधिकांशले टर्कीको बाटो प्रयोग गरेका छन् । द्वन्द्वग्रस्त सिरिया, इराक, अफगानिस्तानसहितका देशका नागरिक टर्कीको बाटो हुँदै युरोपका विभिन्न देश जाने गर्दछन् । (एजेन्सी)