उत्तेजना फैलाउने काम नगरौं, सामाजिक सद्भाव कायम गरौँ

डा . रबिन्द्र पाण्डे ‘समीर’
जनस्वास्थ्य विशेषज्ञ
१. धेरैजसो अनलाइन पत्रिकाले सनसनीपूर्ण समाचार दिएर आफ्नो लाइक बढाउने, भ्युवर संख्या बढाउने प्रयोजनको लागि नभएका समाचार वा अतिरन्जित गरेर समाचार राखेका हुन्छन ।त्यस्ता अनलाइन पढेर आफ्नो धारणा नबनाऔं । 
२. कुनै नेता वा दलले आफ्नो अस्तित्व देखाउन वा मेडियामा आउनको लागि उत्तेजक बिचार व्यक्त गर्दछन, यस्तालाई समाचारको बिषय नबनाऔं । पदमा पुगेका व्यक्तिहरुले तालीको लागि टुँडिखेलमा गर्ने जस्तो भाषण नगरौं ! सकिन्छ, काम गरौँ / सकिन्न मुखमा दहि राखेर बसौं । 
३. राजेन्द्र महतोजस्ता केहि व्यक्तिको कारण सम्पूर्ण मधेसी जनताप्रति पूर्वाग्रही धारणा नबनाऔं । मधेसी मुलका धेरै मित्रहरुसंग मेरो प्रगाढ सम्बन्ध छ । बर्षौं एकै भान्छामा खाएको छु, एउटा बेडमा सुतेको छु, दशैमा टिका लगाएको छु, छठ मानेको छु । उहाँहरुको राष्ट्रप्रेम हाम्रो भन्दा कुनै अर्थले कमि महशुष मैले कहिल्यै अनुभूत गरेको छैन । सिमानाका मधेसी जनता आफ्नो एक इन्च भूमि रक्षा गर्न दिलोज्यानले लागेका छन् । तसर्थ मधेसी मुलका नेपालीलाई बिनाकारण अराष्ट्रिय देख्ने वा भारतीय देख्ने रतन्धोको उपचार गरौँ । 
४. केहि नेताको स्वार्थको लागि मधेशलाई रणभूमि बनाइएको छ ।मधेसी जनतालाई यो डर छ कि सरकारले दिनुपर्नेलाई नागरिकता नदिने तर नदिनुपर्नेलाई नागरिकता दिंदा भोलि मधेसी कोटामा अनेपालीले लाभ लिने, व्यवसायदेखि राजनीतिसम्म अनेपालीको बर्चस्व भएमा हाम्रा भूमिपुत्रहरुलाई ठूलो घाटा हुन्छ । तसर्थ नेपाली मधेसीलाई उचित अवसर र सम्मान अनुभूत गर्ने बाताबरणले हाम्रो राष्ट्रियता बलियो हुन्छ । 
५. धेरै मधेसी जनताले आफु राज्य, कर्मचारीतन्त्र तथा पहाडीवर्गबाट हेपिएको, अपमानित भएको, शंकाको नजरमा परेको र अपनत्व नपाएको पीडाबोध गरेका छन् । आफ्ना दाजुभाई . दिदीबहिनीहरुलाई सम्मानजनक ब्यबहार गर्न सिकौं । 
६. थारु सम्प्रदायमा एउटा ठूलो चोट परेको छ । २ दिन आन्दोलन गर्दा बाग्लुंगदेखि मध्य र सुदुर पश्चिम क्षेत्रका जनताको माग पुरा गरियो, ६ वटाबाट ७ वटा प्रदेश बनाइयो तर हामीले महिनौं आन्दोलन गर्दा दमन गरियो भन्ने । जुन जायज छ । कि ६ प्रदेशमै रहनु पर्थ्यो कि एउटा प्रदेश थपेर उनीहरुलाई राज्यप्रति सम्मान जगाउने बाताबरण प्रदान गर्नुपर्थ्यो । केहि नेताको भोटको लागि अहिलेपनि एक इन्च हेरफेर गर्देनौं भन्ने र सम्पूर्ण तराईलाई दुई प्रदेश गर्नुपर्छ भन्ने अतिवादको बिचमा समाधान खोज्नुपर्छ । यसको लागि मधेसी मोर्चा र सरकार एक / एक कदम पछाडी हटेर मिलनबिन्दु खोज्नुपर्छ । 
७. मधेस आन्दोलन र नाकाबन्दीलाई फरकफरक ढंगले हेर्नुपर्छ । हाम्रा नेता तथा कुटनीतिज्ञको यस्तै रबैया रहेमा मधेसका माग पुरा गरेपनि भारतीय नाकाबन्दी खुल्दैन । 
८. मधेसी मोर्चाले नाकामा धर्ना दिने काम छोड्नुपर्छ ।यो नाकाबन्दीले पहाडी तथा हिमाली जनतामा दुई प्रदेश भएमा हामीले यस्ता नाकाबन्दी तराइमधेसले पटकपटक गर्छ भन्ने भयले संघियताप्रति बिरोधको स्वर बढाएको छ । पहाडी तथा हिमाली जनताले मधेसका माग पुरा नगरेका हैनन् । तसर्थ सिंहदरवार वा बालुवाटार घेरेर दवाव दिए त्यो प्रभावकारी हुनेछ ।
९. मधेस आन्दोलनमा सर्वमान्य नेता नभएको, जसले उग्र कुरा गर्छ- उही स्थापित हुन्छ भन्ने मानसिकताले त्यहाँका नेता ग्रस्त भएकोले मधेसी जनताले सन्तुलित नेताका कुरा सुन्ने वा उनीहरुको पूर्व इतिहास हेर्नुपर्दछ । लोकतन्त्र आएपछि पांच दर्जन मन्त्रि, धेरै उपप्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायत हुँदा मधेसमा बिकास किन भएन ? किन त्यो बेला जनताको अधिकार स्मरण भएन ? किन आफ्नी श्रीमती, प्रेमिका,सम्धी वा धनाढ्य व्यक्ति ( पहाडी समेत ) लाई सभासद बनाइयो ? कसरि नेताको आर्थिक स्थिति आकासियो ? यी कुरा मधेसी जनताले सच्चाउन नेत्तृत्वलाई दवाव दिनुपर्छ । 
१०. आन्दोलन साम्प्रदायिक मोडमा गयो भने त्यो ठूलो दुर्भाग्य हुनेछ । हाम्रो देशमा मिश्रित बस्ति छ । तराइ / मधेसमा पहाडी जनताको बसोबास तथा रोजगारी भएजस्तै पहाडी जिल्लामा मधेसी मुलका नेपालीको ठूलो रोजगारी र ब्यबसाय छ । काठमाण्डौ लगायत सहरमा मधेसी जनताको घर, ब्यबसाय पनि छ ।पहाडी र मधेसी जनताबीच बैबाहिक / ब्यबसायिक सम्बन्ध फैलिएको छ । तसर्थ पहाडी र मधेसी जनता एकअर्काका परिपुरक र पारस्परिक छौं । यो सम्बन्धमाथि कसैले सलाई कोरेमा अन द स्पोट दुवै पक्षले रोक्नुपर्छ । 
११. संकटको घडीमा संयम र धैर्यता ठूलो पुंजी हो ।कसैको पुत्ला, झण्डा जलाउने कामले समाधानलाई झन् टाढा धकेल्छ ।तसर्थ बिरोध गर्दा शिष्ट, मर्यादित र बिबेकपूर्ण तवरले गर्नु उपयुक्त हुन्छ ।

१२. काठमाण्डौले मधेसीलाई शिक्षा, स्वास्थ्य, रोजगारी,सत्ता दिएको तथ्य नबिर्सौं र तराइ/मधेसले चामल, गहुँ, तेल आदि दिएको तथ्य पनि नबिर्सौं । जनजातिले देशको सुरक्षा, नेपालीको पहिचान दिएको गुन पनि नबिर्सौं । नेपालरुपी मालामा सबै धर्म, जात, सम्प्रदाय, बिचार मिलेर बसेका छौं र बस्नेछौं । हामी बिबेकी भए कसैले पनि हामीलाई उकास्न वा भड़काउन सक्दैन । राजनीतिको जरा कहाँसम्म पुगेको हुन्छ, हामीलाई थाहा हुँदैन । तसर्थ हरेक नेतालाई शंका र विश्वास दुवै नजरले हेरौं । 

१३. जनजाती, दलित, महिला वा अन्य बर्गले आफुमाथि विभेद भएको महशुष गरेका छन् । नेताहरु बोल्नेबेला आदर्शका कुरा गर्छन तर प्रतिनिधित्वको सवालमा एकात्मकता अपनाउँछन् । तसर्थ सकारात्मक विभेदको आधारमा उनीहरुलाई मुलधारमा ल्याउनुको बिकल्प छैन । ब्यबहारमा लागु भएपछि नश्लबादी चिन्तन स्वत : हराउँछ । 
१४. बिदेशी राष्ट्र वा निकायका आआफ्नै मिसन हुन्छन । क्षणिक स्वार्थको लागि हामी बिकेमा त्यो देश र जनताप्रति ठूलो गद्दारी हुनेछ । दाताको नजरमा प्रापक जहिले पनि दास हुन्छ । कि राजनीति नगर्नु, ब्यापार गर्नु / राजनीति गरे नाबिक्नु तथा निष्ठाको राजनीति गर्नु नै राजनैतिक मुल्य / मान्यता हो । 
१५ . यो परिस्थिति आउनुमा, हामी गरिब र कमजोर हुनुमा हाम्रो राजनैतिक, प्रशासनिक तथा कुटनैतिक भ्रष्टीकरण र बिकाउ हो भन्ने तथ्य बुझौं । हाम्रा यी पात्र तथा प्रवृति अबिस्वस्नीय हुनु हामी सबै नेपालीको दुर्भाग्य हो ।यो तथ्य सबैले बुझौ । एउटा मात्र राजनेता भएको भए देश सिंगापुर वा स्विट्जरल्यान्ड बन्ने थियो । छाडातन्त्रले हामीलाई बढी बोल्ने, बढी प्रतिक्रियात्मक हुने तथा काम कम गर्ने बनाएको छ । हामीलाई आत्मनिर्भर बन्न काम गर्ने समय छैन तर जुलुस, नारा र बिबाद गर्ने समय छ । नेताहरु धनि छन् , भोलि देश जल्यो भने उनीहरु विदेश गएर भएपनि सुखले बस्न सक्छन तर हामी जनतासंग त्यो क्षमता छैन । तसर्थ देश जनताले बनाऔं ।