नाकाबन्दीले अर्घाखाँचीको जनजीवन कष्टकर बन्दै

वीरेन्द्र केसी

सन्धिखर्क, अर्घाखाँची । नाकाबन्दीले अर्घाखाँचीको जनजीवन कष्टकर बन्दै गएको छ । दैनिक उपभोग्य वस्तु पाईन छाडेको छ । छिटपुट मात्रै पाइने वस्तुको भाउ तेब्बरले बृद्धि भएको छ ।
 
दुई छोरा पढाउन सन्धिखर्क बसेकी मिरा नेपालीले खाना पकाउने ग्यास नपाएर तीन दिनदेखि चाउचाउ र पाउरोटी खाएर बसेकी छिन् । आधा ग्यास पनि नपाइएकाले बाच्नै मुस्किल भएको उनले बताइन् । जिल्लामा भित्रिएका ग्यास आएको पत्तै पाइँदैन । उनी जस्तै शान्ता खत्रीको कोठामा चुलो नबोलोको चार दिन भयो । ‘ड्राइफुट खाएर भोक टारेकी छु ग्यास खोज्दा पाइएन,’ उनले भनिन् । सन्धिखर्कका कुनै पसलमा ग्यास छैन ।
उपभोग्य वस्तुको भाउ महंगिएको छ । नाकाबन्दीले पेट्रोलियम पदार्थ नपाईएकाले सामानको भाउ बढेको व्यापारीको भनाइ छ । पहिलो धारा तेल लिटरको एक सय असी रहेकोमा अहिले दुई सय साठी भएको छ । सनफ्लावर लिटरको तेल एक सय चालिस थियो बढेर दुईसय साठी भएको छ । स्वबिन तेल पनि दोब्बर भएको छ ।