अमेरिकाको क्यालिफोर्नियामा गोली हानेर १४ जनाको हत्या गरिएको छ । क्यालिफोर्निया राज्यको सान बर्नाडिनोमा तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको हो ।
हत्याराको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ । आक्रमणमा अरु १४ जना घाइते भएका छन् । सैन्य पोशाकमा रहेका बन्दुकधारीले अपांगता भएका वयस्कहरुको पक्षमा काम गर्ने इनल्याण्ड सिजनल सेन्टरमा पसेर अन्धाधुन्ध गोली हानेका थिए ।
घटनामा संलग्न एक जनालाई मारिएको दाबी प्रहरीले गरेको छ । यो आतंककारी आक्रमण हो कि होइन भन्ने पुष्टि भइनसकेको र अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन् ।
सान बर्नाडिनोको स्वास्थ्य विभागमा एक कार्यक्रम भइरहेका बेला आक्रमण गरिएको हो । गोली प्रहारपछि आक्रमणकारी कालो गाडीमा चढेर भागेको प्रहरीले जनाएको छ । (एजेन्सी)