ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले महाभियोगको सामना गर्नुपर्ने भएको छ ।
संसद्को तल्लो सदनले रुसेफविरुद्ध महाभियोगको कारवाही शुरु गर्ने निश्चित गरेको हो । गत वर्षको बजेटमा नियम उल्लंघन गरेको आरोपमा रुसेफविरुद्ध महाभियोगको कारवाही थाल्न लागिएको सभामुख एदुआर्दो कुन्हाले जानकारी दिएका हुन् ।
रुसेफले भने आफूले कुनै गलत काम नगरेको जिकीर गरेकी छन् । महाभियोग कारवाही चलाउन सदनको दुई तिहाई सदस्यको समर्थन चाहिन्छ ।
गत वर्ष दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा चुनिए पनि आर्थिक संकटका कारण रुसेफको लोकप्रियता भने गिर्दो छ । विपक्षीले उनीमाथि सरकारी तेल कम्पनी पेत्रोब्रासमा घोटाला गरेको आरोप लगाएका छन् । (एजेन्सी)