पोखराथोक कांग्रेसका सभापति गौतम तरकारी खेती र कुखुरा पालनबाट मनग्य आम्दानी गर्न सफल

प्रेम आचार्य 
पोखराथोक , अर्घाखाँची ।  युवालाई विदेश पलायन हुनबाट रोक्न र आफूले गरे अरुले पनि गर्छन् भन्ने ठानेर पोखराथोक नेपाली कांग्रेसका सभापति अच्युत गौतमले कृषि व्यावसाय सञ्चालन गर्नुभएको छ । आफै नगरेसम्म अरुलाई मुखले भनेर मात्र हुँदैन परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने मान्यताका साथ गौतमले तरकारी खेती र कुखुरा पालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । 
युवाहरुको विदेश पलायन र जागिर मात्र गर्नुपर्छ भन्ने धारणालाई परिवर्तन गर्न र आफूले गरेपछि अरुपनि कृषि पेसामा लाग्न सक्छन् भन्ने सोचका साथ तरकारी र कुखुरा पालनमा लागेको उहाँको भनाई छ । गाउँका युवासँग कृषि गर्नुपर्छ राम्रो आम्दानी हुन्छ भनेर कुरा गर्दा ईच्छुक नदेखिए पछि आफै उदाहरणीय बन्न कृषिमा लागेको उहाँले बताउनुभयो । 
उहाँले अहिले कुखुरापालन र तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक १६ देखि २२ लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । आम्दानीलाई हिसाब गर्दा मासिक एक लाख ३० हजार रुपैयाँ भन्दा बढि हुन आउँछ । यो आम्दानी कुनै जागिरबाट सम्भव पनि छैन । 
उहाँको बारीमा अहिले टमाटरका ९ वटा टनेल छन् । ती टनेलबाट दिनमा झण्डै ४० देखि ८० केजीसम्म टमाटर उत्पादन हुन्छ । बारीमा काउली, आलु, बन्दा, साग लगायतका तरकारी उत्पादन भएका छन् ।  उत्पादन भएको तरकारी स्थानीय बजार र बुटबलको सब्जी मण्डीमा बिक्री हुने गरेको गौतमले बताउनुभयो । बजारको पनि समस्या छैन ।
उहाँले वार्षिक रुपमा तरकारी खेतीबाटै चार देखि ६ लाख आम्दानी हुने गरेको बताउनुभएको छ । परिश्रम गरे यँहिको माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेको व्याबसायले अहिले सोचे भन्दा पनि बढि फाइदा दिएको उहाँले बताउनुभयो । 
तरकारी खेती मात्र हैन उहाँले बोइलर कुखुरापालनलाई पनि सँगसँगै अगाडी बढाउनुभएको छ । उहाँको कुखुरा फर्ममा  अहिले एक पटकमा ३५ सयदेखि चार हजार कुखुरा उत्पादन हुन्छन् । कुखुरा पालनबाट पनि वार्षिक रुपमा कम्तीमा १२ देखि बढिमा १७  लाख सम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । 
मनमा साहस र शरिरमा जागर हुने हो भने पैसा पैसा भनेर जागिर र विदेशनै जानु पर्छ भन्ने सोचाई रहेको हाम्रो समाजका उदाहरणीय पात्र बनेका गौतमले गरेको कृषि क्रान्ती साच्चिकै नमूना रहेको छ । अहिले पोखराथोक, पणेना, मैदान पाटौटी र खिदीम गाविसमा उहाँकै कृषिबाट प्रभावित भएर युवाहरु समेत व्याबसायिक तरकारी खेती र कुखुरापालनमा लागेका छन् ।
उहाँले आफूले मात्र आम्दानी गर्नुभएको छैन ।  तरकारी खेती र कुखुरा पालनमा गरी ५ जनालाई रोजगारी पनि दिनुभएको छ ।