अमेरिकी राष्ट्रपतिको रिपब्लिकन पार्टीका उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्पले आतंकवादलाई नियन्त्रण गर्न देशमा मुस्लिम समुदायका कुनै पनि ब्यक्तिमाथि प्रवेशमा रोक लगाउनुपर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका ट्रम्पले अमेरिकी नागरिकप्रति मुस्लिमहरुको रोष बढेकै कारण देशमा आतंकवाद मौलाएको बताएका हुन् । ट्रम्पले मुसलमानहरुमा हुने घृणाको भावना अरुसँग तुलना गर्न नसकिने भन्दै यो कसरी र कहाँबाट आउँछ भन्ने खोज्नुपर्नेमा जोड दिएका छन् ।
उनले यसअघि पनि अमेरिकामा मुसलमानहरुलाई विशेष निगरानी गर्न सुझाव दिएका थिए । अमेरिकाको क्यालिफोर्नियामा हालै भएको आतंकवादी हमलामा १४ जना मारिनुमा मुस्लिम दम्पती संलग्नको खुलासा भएपछि ट्रम्पको यस्तो अभिब्यक्ति आएको हो । ट्रम्पको भनाईप्रति अमेरिकामा विभिन्न टिप्पणीहरु आएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उनको अभिव्यक्तिको कडा आलोचना गरेको छ । ट्रम्पको अभिव्यक्तिलाई गैर अमेरिकीको संज्ञा दिँदै ह्वाइट हाउसले आलोचना गरेको हो । ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा ट्रम्पको अभिव्यक्ति अमेरिकाको राष्ट्रिय सुरक्षाको हित विपरित भएको उल्लेख छ । (एजेन्सी)