अर्घाखाँचीको कफी अन्तराष्ट्रिय बजारमा ! कृषकहरु कफी खेतीमा आकर्षित हुन थाले

प्रेम आचार्य 
किमडाँडा-सन्धिखर्क, अर्घाखाँची ।  बजारको सुनिश्चीतता, राम्रो आम्दानी र सजिलै सँग खेती गर्न सकिने भएपछि अर्घाखाँचीका कृषकहरु  कफी खेतीमा आकर्षित हुन थालेका छन् । गएको तीन वर्षदेखि गबारोले धमाधम कफीका बोट मरेपनि कफी खेती प्रती कृषकहरुको आकर्षण फेरि बढेको छ । अरु खेती जस्तो बढि समय दिन नपर्ने सधैँ भरि लगाउन नपर्ने, बढि हेरचाह र कम लगानीमै उत्पादन हुने र सजिलै  खेती गर्न सकिने भए पछि कृषकहरु आकर्षित भएका हुन् । 


तीन वर्ष पहिला १४ टन पार्चमेन्ट कफी र ६ टन ड्राई कफी उत्पादन भएकोमा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर ११ टन पार्चमेन्ट र ३ टन ड्राई कफीमा झरेको जिल्ला कफी व्यबसायी संघका कोषाध्यक्ष तथा कफी कृषक पुस्करनाथ बन्जाडेले बताउनुभयो । 
यसवर्ष पनि गएको वर्षको हाराहारीमै कफी उत्पादन हुने अपेक्षा गरिएको छ । पूर्ण रुपमा गबारो नियन्त्रण नभए पनि भाउ राम्रो र बजारको लागि कतै धाउनै नपर्ने भएपछि कृषकहरु झन उत्साहित बनेको उहाँको भनाई छ । कफीको लागि छहारी व्यबस्थापन र गबारो नियन्त्रण सम्बन्धि सीप सिकाउन सरकार तथा कुनै संघ सँस्थाले पहल गरेमा कृषकलाई ठूलो राहात हुने बन्जाडेले बताउनुभयो । 
अर्घाखाँचीमा उत्पादन भएको कफी कोरीया, जापान, अमेरीका लगायतका देशमा बिक्री भइरहेको छ । समुन्द्री सतहदेखि ८ सय मिटरको उचाईमा हुने कफी बढि स्वादीले हुने भएकोले अर्घाखाँचीको कफीले अन्तराष्ट्रिय बजार पाएको छ । 


२०५८ सालदेखि कफी खेती गर्न सुरु गरिएकोमा अहिले जिल्लाको १७ गाविसमा  कफी खेती गरिएको छ । कफी उत्पादन र व्याबसायीकरणका लागि   ४३  समूह, ४ सहकारी गठन भएका छन् । जसमा १ हजार १ सय ६५ जना कृषकहरु कफी खेतीमा आबद्ध भएको जिल्ला कफी व्याबसायी संघले बताएको छ । कफी प्रशोधन गर्नका लागि जिल्लाका २४ स्थानमा पलपर मेसिन राखिएको छ । कफी उत्पादन दुई वर्षदेखी घट्दै गएको र कफीका विरुवा लगाउँदा कृषकले छहारीमा लगाउनुको सट्टा नाँगो जमिनमा लगाउँदा र चिस्यान  बारीको सट्टा सुख्खा जमिनमा  लगाउँदा गबारो लाग्ने संभावना बढी हुने कृषि प्राविधिकहरु बताउँछन् । गएको असारमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र जिल्ला कृषि विकास कार्यालयको बिरुबा अनुदानमा ठुलापोखरा, पटौटी जुकेना, ठाडा र ढाकाबांग  गाविसमा १० हजार बिरुबा लगाइएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख योग प्रसाद खरेलले बताउनुभयो । 
जिल्लामा कफी खेती विस्तार गर्नका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा सन्धिखर्क नगरपालिका-१० किमडाँडामा बन्जाडे नर्सरीमा २० हजार कफीका बिरुबा तयार हुँदैछन । २० हजार बिरुबा अर्घाखाँचीका बिभिन्न स्थानमा लगाइने छ । 
गबारो नियन्त्रण पनि गर्दै जाने र नँया बिरुबाहरु पनि थप्दै जानु पर्ने  कफी खेती गर्ने अगुवा कृषकहरुको भनाई रहेको छ ।