सिरियाका विपक्षी दल र विद्रोहीहरुद्धारा सरकारसँग वार्ताका लागि साझा शान्ति प्रस्ताव तयार

सिरियाका विपक्षी दल र विद्रोहीहरुले सरकारसँग वार्ताका लागि साझा शान्ति प्रस्ताव तयार पारेका छन् ।
साउदी अरबको राजधानी रियादमा दुई दिनसम्म बसेको विपक्षी र विद्रोहीहरुको बैठकले आफ्ना मुद्दा समेटेर सरकारसमक्ष शान्ति वार्ताको साझा प्रस्ताव तयार पारेका हुन् । प्रस्तावमा सिरियाली सरकारमा सबै वर्गको उचित प्रतिनिधित्व गराउनुपर्ने उल्लेख छ । तर कार्यवाहक सरकार गठन हुनुअघि राष्ट्रपति बसर अल असद र उनको सरकारले कुनै पनि प्रकारको निर्णय भने गर्न पाउने छैन ।
विपक्षी र विद्रोहीहरुले तयार पारेको प्रस्तावमा विद्रोही समूह अहरार-अल-सामले हस्ताक्षर गरेको छ या छैन भन्ने खुलेको छैन । तर समाचार एजेन्सी रोयटर्सले वार्ता सम्पन्न हुनु केही समयअघि यो गुटले पनि मस्यौदामा हस्ताक्षर गरेको जनाएको छ ।
मस्यौदामा कार्यवाहक सरकार गठन नभएसम्म असदले नै सत्ता सञ्चालन गर्न पाउने उल्लेख छ । यसअघि विपक्षी समूहहरुले सम्झौता हुनुअघि नै असदले सत्ताबाट हट्नुपर्ने माग गर्दै आएका थिए ।
सरकार र विपक्षीबीच सहमति भएमा सिरियामा चार वर्षदेखि चल्दै आएको गृहयुद्ध अन्त्य हुने बताइएको छ । सन् २०११ मा सिरियामा शुरु भएको गृहयुद्धमा ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने एक करोडभन्दा बढी मानिस घरवारविहीन भएका छन् । (एजेन्सी)