अमेरिकाद्धारा उत्तर कोरियासँग हाइड्रोजन बम रहेको भन्ने समाचार भ्रामक भएको दाबी

अमेरिकाले उत्तर कोरियासँग हाइड्रोजन बम रहेको भन्ने समाचार भ्रामक भएको दाबी गरेको छ । उत्तर कोरियाली सञ्चार माध्यमहरुले सर्वोच्च नेता किम जोङ उनलाई उद्धृत गर्दै उत्तर कोरियासँग हाइड्रोजन बम रहेको संकेत गरेको जनाए लगत्तै ह्वाइट हाउसले एक बक्तब्य जारी गर्दै समाचारको खण्डन गरेको हो ।
ह्वाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले उत्तर कोरियासँग हाइड्रोजन बम रहेको खबरमा सत्यता नरहेको जनाए । यद्यपी उत्तर कोरियाको परमाणु कार्यक्रमको विकासको खतरालाई लिएर अमेरिका सँधै चिन्तित रहेको उनले बताए । विवादास्पद परमाणु कार्यक्रमका कारण चर्चामा रहने उत्तर कोरियासँग हाइड्रोजन बम रहेको खबरको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
यसअघि राजधानीमा प्योङयाङमा ऐतिहासिक सैन्यस्थलको निरीक्षण उत्तर कोरियाली सर्वोच्च नेता उनले हाइड्रोजन बम रहेको संकेत गरे पनि त्यसप्रति वैज्ञानिकहरुले सन्देह ब्यक्त गरेका छन् । उत्तर कोरियाकै कतिपय वैज्ञानिकले हाइड्रोजन बम रहेकोमा सन्देह जनाउँदै हाइड्रोजन बम बनाउने प्रक्रिया भने सुरु भएको हुनसक्ने बताएका छन् । (एजेन्सी)