सन्धिखर्क किमडाँडाका व्रेन ट्युमर रोग पीडितद्धारा उपचार सहयोगको याचना

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका वडा नं. १० किमडाँडाका विष्णुप्रसाद भुसाल यतिबेला व्रेन ट्युमर  रोगका कारण थलिएका छन् । रोगले थलिएपछि उपचारको लागि सहयोग गर्न सबैसँग याचना गरेका छन् । उनी निको भएर परिवारको सहार बन्न चाहन्छन् । उपचार पाए आफू बाच्न पाउनेमा उनी विश्वस्त देखिन्छन् । जटिल प्रकारको रोग लागेपछि  उनको घरमा अध्यारो छाएको छ । श्रीमति, एक छोरा, चार छोरीको उन्को परिवार छ । सात वर्षिया छोरा गौरभ सुस्तमनस्थितका छन् । श्रीमतीलाई पाठेघरमा समस्या छ । दुइ छोरीको विवाह भएको छ भने दुइ छोरी सानै छन् । अपाङ्ग छोरो, रोगी श्रीमति र छोरीहरुको सहारा बनेका उनी अचानक थलिएपछि परिवार बेसहारा बनेको छ ।  

विष्णु प्रसाद भुसाल श्रीमति टामकलाको साथमा

ठूलै जिम्मेवारी निर्वाह गर्दै आएका अभिभावक नै रोगबाट थलिएपछि परिवारमा निराशा छाएको छ ।  ‘सबैले सहयोग गरे बाच्ने थिएँ, ‘बरबर्ती आशु झार्दै उनले भने, ‘म मरे परिवारको बिजोग हुने भयो ।’ उनलाई परिवारको निकै चिन्ता छ । कमजोर आर्थिक स्थितिका कारण उनले उपचार पाउन सकेका छैनन् । ‘मलाई मर्न मन छैन, उपचार पाए बाच्छु जस्तो लाग्छ’ उनले भने । उनका कुरा सुन्दा उनको जीवन रक्षार्थ सबैले आफ्नो ठाउँबाट केहि न केहि गर्नैपर्छ । बाचेर परिवारको दुःखमा साथ दिने उनको तीव्र अभिलासा छ ।  
उनले दैनिक परिश्रम गरेर परिवार पाल्दै आएका थिए । घरबाट दैनिक ७ किलोमिटरको पैदल यात्रा गरेर सदरमुकाम सन्धिखर्कमा लगेर दुध-तरकारी बिक्री गर्ने गर्थे । उनको निरन्तरको परिश्रमले घरमा चुलो बलेको थियो  । दैनिक परिश्रम गरेर घरधन्धा चलाउदै आएका उनले एक्कासी जटिल रोगको सामना गर्नुपर्ला भनेर कल्पना सम्म पनि गरेका थिएनन्   । कृषिबाट मासिक आठ-दश हजार आम्दानी भएपनि सबै रकम घर खर्चमै प्रयोग हुन्थ्यो ।  उनीसँग वैंक व्यालेन्स पनि छैन् । सम्पत्ति पनि निकै कम छ । सबै सम्पत्ति बिक्री गर्दा पनि उनको उपचारको लागि चाहिने रकम जुट्न सक्दैन । उनी विस्तारामा परेको पनि करिव दुई महिना भइसक्यो । श्रीमान रोगले ग्रसित बने देखि नै श्रीमति टामकलाका आखाँ ओभाएका छैनन् ।  श्रीमानको अवस्था देख्दा  जति मन सम्हाल्न खोजे पनि नसकेको उनले बताइन  । ‘मलाई छिट्टै उपचार गर्न लैजाओ भन्नुहुन्छ’ उनले भनिन,  पैसा नहुँदा उपचार गर्न सकिएन । दैवले पनि दुःखीलाई नै सताउदो रैछ’ उनले थपिन, ‘यस्तो पीडा कसैलाई पनि नपरोस ।


विष्णुप्रसादको परिवारको अवस्था हिजो उनी  स्वस्थ हुँदा पनि कमजोर नै हो । आज उनी व्रेन ट्युमर जस्तो जटिल प्रकारको रोगबाट ग्रसित छन् । उपचार गराउन नपाउदा उनी बाच्न पाउँछन्-पाउँदैनन् टुङ्गो छैन् । भनिन्छ थोपा थोपा मिलेर समुन्द्र हुन्छ ।  सबैले एक-एक रुपैयाँ जम्मा गर्न सक्यौं भने पनि लाखौं रुपैयाँ जम्मा हुन सक्छ । सानो सहयोगले कसैको जीवन रक्षा हुन्छ, कसैको परिवारमा खुसी छाउन्छ भने सानो सहयोग गर्न पनि किन पछि हट्ने ? भविश्य कसैले जानेको हुँदैन, समस्या भोली तपाई हामीलाई पनि पर्न सक्छ । आफूले अरुलाई सहयोग गरेमा मात्र अरुले पनि आफूलाई सहयोग गर्न सक्छन् । विष्णुप्रसाद भुसाल बाच्न चाहिरहेका छन्  सबै मिलेर उनलाई बचाउँ यसैमा छ धर्म, यसैमा छ सच्चा मानवता ।