अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष १ गतेदेखि अनुगमन तथा छानविन टोली खटाउने भएको छ।
आयोगले आज एक सूचना निकालेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका निकायहरूबाट सेवाग्राही यात्रुहरूलाई प्रदान गरिने सेवासुविधा तथा भौतिक संरचनाहरूको उचित प्रवन्ध नभएको सम्वन्धमा व्यापक रुपमा उजुरी तथा गुनासाहरू प्राप्त भैरहेको सन्दर्भमा सरोकारवाला निकायहरूबाट तत्काल सुधार गर्ने भनी समय समयमा प्रतिवद्धता जनाएको भएपनि हालसम्म त्यहाँको अनियमितता र लापरवाही लगायतका समस्याको अनुभूति हुनेगरी सम्बोधन भएको नदेखिएकोले यस विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
विमानस्थलमा आगन्तुकहरूले व्यहोर्नु परिरहेको कठिनाई, सरोकारवाला निकायहरूबीच समन्वयको अभाव, अतिविशिष्टकक्षको दुरुपयोग, यात्रुहरूले प्रस्थान तथा आगमनमा झेलिरहनु परेको झण्झटिलो प्रकृया, कन्वेयरवेल्टसम्बन्धी समस्या, पिउने पानीको अनुपलव्धता, ग्राउण्ड ह्याण्डलिङ्गमा बेथिति, कर्मचारीहरूको आचरण तथा व्यवहारसम्बन्धी समस्या, सुरक्षामा लापरवाही, विमानस्थलबाट हुन सक्ने तस्करी, शौचालय सहित सरसफाईमा हेलचेक्र्याई तथा ढिलासुस्ती र अनियमितता, भन्सार तथा अध्यागमनको सेवा प्रवाहमा कमी कमजोरी विद्यमान रहेको भन्ने जस्ता उजुरी आयोगमा परेको भन्दै आयोगले त्यसको समाधानका लागि आयोगले जिम्मेवार अधिकारीको नेतृत्वमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा अनुगमन तथा छानविन टोली खटाउने बताएको छ।
यात्रुले आफुले अनुभुत गरेका, देखेका र जानकारीमा आएका समस्याबारे सहसचिव एंव अायोगका प्रवक्ता कृष्णहरि पुस्करलाई ९८५११८४१२९ मा र प्रहरी वरिष्ठ उपरीक्षक ज्ञान विक्रम शाहलाई ९८४१३७६१८२ नम्बरमा फोन गरी सूचित गरिदिन पनि आयोगले अनुरोध गरेको छ। सेतोपाटीमा समाचार छ ।