चीनको दक्षिणी सहर शेनचेनमा गएको पहिरोमा पुरिएर ५९ जना बेपत्ता

चीनको दक्षिणी सहर शेनचेनमा गएको पहिरोमा पुरिएर ५९ जना बेपत्ता भएका छन् । पहिरोमा ३० भन्दा बढी घर ध्वस्त भएका छन् ।
पहिरोमा ५९ जना बेपत्ता भएको सरकारी अधिकारीले जनाएका छन् । औद्योगिक क्षेत्रका ३० भन्दा बढी भवन पहिरोमा पुरिएका हुन् । तीमध्ये दुईवटा आवासीय भवन हुन् ।
धेरै मानिसलाई पहिरो गएको स्थानबाट सुरक्षित स्थानमा सारिएको छ । उद्धार गरिएकाहरुले पहिरोमा अझै धेरै मानिस पुरिएको बताएका छन् । उद्धारकर्मीले बेपत्ता भएकामध्ये केही मानिस जीवित हुन सक्ने आशा गरेका छन् ।
समाचार एजेन्सीहरुका अनुसार भूस्खलनपछि ग्यास पाइपलाइनमा विस्फोट भएको थियो । सो विस्फोटबाट करिब एक लाख वर्गमिटर क्षेत्र माटोमा पुरिएको बताइएको छ । (एजेन्सी)