बैदेशिक रोजगारमा जानु अघिं आफैले स्वास्थ्य परिक्षण गरौँ

डा. रवीन्द्र पाण्डे
जनस्वास्थ्य बिशेषज्ञ
धेरै दलालहरुले गाउँका सोझा युवालाई लाखौँ कमाइको सपना देखाइ कमिसन वा प्रोसेसको नाममा सुरुमै धेरै खर्च गराउँछन् । आफ्नो पासपोर्ट तथा अन्य कागज बनाउनु अघिं आधारभूत स्वास्थ्य परिक्षण आफै गरौँ ।
१. छातीको एक्स रे – धेरै नेपालीहरुको प्रमुख समस्या छातीको ‘ दाग ‘ हो । धेरैले छातीको ‘ दाग ‘ लाई बाहिर भएजस्तो दाग सम्झिन्छन जुन सर्वथा गलत हो । छातीमा नयाँ तथा पुरानो संक्रमण भएमा,पहिले निमोनिया / क्षयरोग वा त्यस्तै फोक्सोको कडा रोग लागेमा वा त्यसको पुरा उपचार नभएको व्यक्तिमा फोक्सोमा कोष तथा तन्तुहरु कडा हुने, जम्ने आदि हुन्छ । त्यसलाई श्याम स्वेत एक्स रे मा दाग जस्तो देखिन्छ तर त्यो दाग हैन । त्यस्तै फोक्सोको तह सुन्निएमा, फोक्सोको कुनामा पानी जमेमा, क्षयरोग, निमोनिया, संक्रमण आदि भएमा पनि ठूलो धब्बा देखिन्छ । यो बाहेक फोक्सोमा गिर्खा, घाउ आदि भएपनि दाग देखिन्छ । अन्य गंभिर रोगमा समेत दाग देखिन्छ । तसर्थ रोगको पहिचान गरेर तदनुरूप उपचार गरेमात्र ‘ दाग ‘ सन्चो हुन्छ । रोग सन्चो भएपनि त्यसको अवशेष बाँकी रहन सक्छ ।
बजारमा छातीको दाग ग्यारेन्टीका साथ निको पारिन्छ भनेर ठग्नेहरुको बिज्ञापनमा फस्नु हुँदैन । फिजिसियन वा छातीरोग बिशेषज्ञसंग सम्पर्क गरेर त्यसको उपचार गर्नुपर्दछ । कसैले दहि वा केरा खाए दाग देखिन्न भ्रामक कुरा गर्छन । यो १०० % गलत कुरा हो । त्यस्तै कुनै म्यानपावरले एक्स रे साटेर पनि विदेश पठाउने गरेको सुनिन्छ । यसो गर्दा बिदेशमा स्वास्थ्य परिक्षण गर्दा अनफिट भएर फिर्ता पठाउने हुँदा पैसाको नोक्सानी मात्र हुन्छ ।
२. रगतको जांच : बैदेशिक रोजगारमा जाँदा खास गरि VDRL, HIV, HBsAg, HCV लगायतका यौन रोग, हेपाटाइटिस बि र सी को जांच गर्दछ । यो पोजिटिभ देखिएमा VDRL बाहेक अन्य नेगेटिभ हुने सम्भावना हुँदैन । यस्तो अवस्थामा यहीं बसेर उपचार गर्नुपर्ने हुन्छ । हेपाटाइटिस बि र सी को ग्यारेन्टी उपचार भन्ने अर्को भ्रममा पनि फस्नुहुंदैन ।
३. उच्च रक्तचाप देखिएमा औषधिको नियमित सेवन गरेर नियन्त्रण गर्न सकिन्छ ।
४. यसबाहेक चिकित्सकद्वारा जनरल जांच, सुगर, कलेजो, मृगौला, मुटु, कोलेस्टेरोल, हाडजोर्नी, बाथ, आँखा, कान, क्षारे रोग, मानसिक अवस्था आदिको पनि जांच गर्नुपर्दछ । भिडियो एक्स रे, इसिजी लगायतका परिक्षण पनि आवश्यक हुन्छन । भाषा तथा आर्थिक कारण बिदेशमा सुरुमा उपचार गर्न निकै कठिन हुन्छ । शरीर स्वस्थ छैन भने जबर्जस्ती विदेश जानु हुँदैन । आफ्नो रोग लुकाएर विदेश जाने चलाखी गर्नुहुँदैन । हामी बैदेशिक रोजगारमा जाने आराम गर्न हैन, कडा परिश्रम गर्न हो तसर्थ आफुमा त्यो स्टामिना छैन भने स्वदेशमै काम गर्नु उपयुक्त हुन्छ ।
यसरी जांच गरेर / उपचार गरेर ‘फिट ‘ भएपछि मात्र राहदानी बनाउने, अन्य कागज बनाउने काम गर्नुहोला । कसैको कन्भिन्समा परेर पछि आफुलाई अप्ठ्यारो हुने काम नगर्नुहोला ! त्यति मेहेनत र लगानी गरेमा स्वदेशमा राम्रो कमाइ गर्न सकिन्छ ।