अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी राज्य बदाख्शनको फैजावाद केन्द्र भएर भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।
फैजावाद अफगानिस्तान र ताजिकिस्तानको सीमा नजिक पर्छ । भूकम्पको धक्का पाकिस्तान, भारत र ताजिकिस्तानमा महशूस गरिएको थियो । भूकम्पमा परी मृत्यु भएको खबर नआएपनि पाकिस्तानमा भने झण्डै ४० जना घाइते भएका छन् ।
भारत प्रशासित काश्मिरको राजधानी श्रीनगर, दिल्लीसहित केही शहरमा भूकम्पको धक्का महसुस भएको थियो । पाकिस्तानको इस्लामावाद, रावलपिण्डी, लाहोर, पेशावरसहितका ठाउँमा झण्डै एक मिनेटसम्म धक्का महसुस भएको बताइएको छ ।
सन् २००५ मा पाकिस्तान प्रशासित काश्मिरमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ७५ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो । (एजेन्सी)