अमेरिकाको मध्य दक्षिणी राज्यहरु भारी वर्षा र बाढीको चपेटमा

अमेरिकाको मध्य दक्षिणी राज्यहरु भारी वर्षा र बाढीको चपेटमा परेका छन् । वर्षा र बाढीकै कारण अहिलेसम्म २६ जनाको मृत्यु भएको छ ।
एक हप्तादेखि लगातार आएको आँधीमा परी थुप्रै व्यक्ति घाइते भएका छन् । मिसिसिपी राज्यमा मात्र दश जनाको मृत्यु भएको छ भने टेक्ससमा ८ र टेनेसीमा ६ जना, अर्कान्सास र अलाबामामा एक-एक जनाको मृत्यु भएको छ । ओक्लोहामामा शक्तिशाली हिमआँधी आउने र १६ इन्चसम्मको हिउँ जम्नसक्ने चेतावनी अधिकारीहरुले दिएका छन् । मिसिसिपीमा ५६ जना घाइते हुनुका साथै चार सय घर ध्वस्त भएको खबर छ ।
दक्षिण अमेरिकी राज्यहरु पनि ५० वर्ष यताकै सबैभन्दा खराब बाढीको चपेटमा परेका छन् । पाराग्वे, अर्जेन्टिना, उरुग्वे र ब्राजिलमा बाढीमा फसेका डेढ लाखभन्दा बढी व्यक्तिको उद्दार गरिएको छ । पाराग्वेमा मात्र एक लाख ३० हजार व्यक्ति आफ्नो घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । अर्जेन्टिनामा २० हजार व्यक्ति सुरक्षित स्थानतर्फ लागेका छन् ।
उता, अमेरिकाकै शिकागोमा प्रहरी कारवाहीमा दुई जना मारिएका छन् । पश्चिम शिकागोस्थित एक घरेलु झगडामा प्रहरीले गोली चलाउँदा उनीहरु मारिएका हुन् । प्रहरी कारवाही १९ वर्षीय एक युवक र ५० वर्षीया एक महिला मारिएका छन् । दुबैजना काला समुदायको रहेको बताइएको छ ।
घरेलु समस्या सुल्झाउन जाँदा एक हिंस्रक युवासँग जम्काभेट भएपछि गोली चलाउनु परेको प्रहरीले जनाए पनि उक्त युवाको आमाले भने आरोप अस्वीकार गरेकी छिन् । (एजेन्सी)