गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । सवारी दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक प्रहरी अर्घाखाँचीले सचेतना अभियानलाई तिव्रता दिएको छ ।
अधिकांश सडक दुर्घटनाहरु ट्राफिक नियमको पालना नगरेकै कारणबाट घट्ने हुनाले दुर्घटनालाई कम गर्न सवैले ट्राफिक नियमको पालना गर्नुपर्ने भन्दै प्रहरीले पैदल यात्री, सवारी चालक र यात्रुहरुलाई ट्राफिक नियम सम्बन्धी विभिन्न विद्यालय र बजारका चोक-चोकमा प्रशिक्षणमुलक कार्यक्रम संचालन गर्दै हिडेको छ ।
जिल्ला ट्राफिक प्रहरीले सन्चालन गरेको सचेतना अभियानमा सवारी साधनमा यात्रा गर्दा यात्रुहरुले अनिवार्य टिकट लिएर यात्रा गर्नुपर्ने, क्षमता भन्दा धेरै यात्रुहरुलाई गाडीमा नराख्ने, गाडी चालकहरुले अनिवार्य सिटबेल्ट बाध्नुपर्ने,गाडी पार्किङ्ग गर्ने स्थानमा मात्र गाडी पार्किङ्ग गर्नुपर्ने लगायतका ट्राफिक नियमहरु पालना सम्बन्धि सरोकारवालाहरुलाई प्रशिक्षण दिने गरेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज रेसम बहादुर रानाभाटले बताउनुभएको छ । यात्रु सवारी चालक र पैदलयात्रीहरुले ट्राफिक नियमलाई पालना गरे मात्रै दुर्घटना कम हुने ट्राफिक इन्चार्ज रानाभाटले बताउनुभएको छ ।
ट्राफिक प्रहरी ईन्चार्ज रानाभाटले ट्राफिक प्रहरीको अभियानलाई सवैले बुझेर सहयोग पु-याएमा अर्घाखाँचीलाई दुर्घटना न्युनिकरणको नमुना जिल्ला बनाउने आफुहरुको योजना रहेको बताउनुभएको छ । उहाँले निजि गाडीहरु अव्यवस्थीत रुपमा सडकमा नराख्न, सडकमा निर्माण सामाग्री नराख्न र पाकिङ्ग स्थानमा मात्रै सवारी साधन पार्किङ्ग गरी दुर्घटना न्युनिकरण गर्ने अभियानमा सहयोग गर्न सवैसँग आग्रह गर्नुभएको छ ।