विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएसँगै विश्व कै ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाको बजेट घाटा यो वर्ष करिब एकसय अर्ब डलरको हराहारीमा पुगेको छ ।
साउदी राजा सलमानले सत्ता सम्हालेपछिको पहिलो वार्षिक बजेटमा राजश्व संकलन १५ प्रतिशतले घटेर १ सय ६२ अर्ब डलरमा झरेको छ ।
बजेट घाटा कम गर्न तेलमा दिईंदै आएको सहुलियत घटाइने भएको छ भने पेट्रोलको मूल्य ५० प्रतिशतसम्मले बढाइने छ ।
साउदी अरबियामा बजेट घाटा कम गर्न पेट्रोलको मूल्य ५० प्रतिशतले बढाउँदा पनि अन्तराष्ट्रिय बजार मूल्यभन्दा निकै कम हुने छ ।
बजेट घाटा कम गर्न डिजेल, बिजुली र पानीको मूल्य पनि बढ्ने बताइएको छ । यस वर्ष साउदी अरेबियाको तेल बिक्रीबाट उठ्ने राजश्व अघिल्लो वर्ष भन्दा २३ प्रतिशतले कमी आएको छ ।
सुरक्षा र सैन्य खर्च भने बढ्दो छ । सन् २०१२ मा १ सय २५ डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य अहिले ३७ डलर छ । (एजेन्सी)