विश्वमा ११० पत्रकार मारिए

विश्वकौ मिडिया निगरानी संस्था रिपोर्टर्स विदआउट बोर्डर्सका अनुसार सन् २०१५ मा विश्वमा ११० पत्रकार मारिएका छन् । यसरी मारिएकाहरुमध्ये दुई तिहाईभन्दा बढी अपेक्षाकृत शान्तिपूर्ण मानिएका मुलुकमा भएका घटनाहरुको शिकार बनेको सो संस्थाले जनाएको छ ।
सन् २०१५ को वार्षिक समीक्षा गर्दै उक्त संस्थाले जारी गरेको प्रतिवेदनमा भनिएको छ,  यो वर्ष ६७ पत्रकार आफ्नो ड्युटीका क्रममा मारिएका छन् भने ४३ जनाको मृत्युको कारण खुल्न सकेको छैन ।  यस अतिरिक्त २७ गैरपेशेवर अर्थात्  सिटिजन जर्नालिस्ट मारिएको उक्त संस्थाले जनाएको छ । त्यस्तै अन्य सात मिडियाकर्मी पनि मारिएका छन् ।
अधिकांश पत्रकारको हत्या उनीहरुविरुद्ध जानाजान गरिएको हिंसाको नतिजा रहेको पनि उक्त प्रतिवेदनमा जनाइएको छ ।
मिडियाकर्मीका लागि एसियाली मुलुकमा भारत सबैभन्दा बढी खतरनाक रहेको पनि प्रतिवेदनमा उल्लेख छ । अचम्म त यो छ कि, तालिवानजस्तो उग्रवादी समूह सक्रिय रहेको अफगानिस्तान र पाकिस्तानको तुलनामा समेत भारत संचारकर्मीका लागि बढी खतरनाक मुलुक देखिएको छ ।
भारतमा एक वर्षको अवधिमा ९ पत्रकार मारिएका छन् । तीमध्ये केही संगठित अपराध तथा राजनेताहरुसँग अपराधको सम्बन्धजस्ता विषयमा समाचार लेखेकै कारण मारिएका छन् भने केहीले अवैध खनन्को विषयमा समाचार लेखेकै कारण ज्यान गुमाएको जनाइएको छ ।
सो प्रतिवेदनअनुसार भारतमा पाँच पत्रकारले ड्युटीका क्रममा ज्यान गुमाएका छन् भने अन्य चारको मृत्युको कारण खुल्न सकेको छैन ।
पत्रकारका लागि विश्वमै सबैभन्दा खतरनाक देश सिरिया रहेको छ भने दोस्रो नम्बरमा इराक रहेको उक्त संस्थाको प्रतिवेदनमा जनाइएको छ । त्यसैगरी फ्रान्स तेस्रो नम्बरमा रहेको छ । (एजेन्सी)