पाकिस्तान र अफगानिस्तानले सीमा क्षेत्रमा जारी हिंसा नियन्त्रणका लागि हटलाइन सेवा सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अफगानिस्तान भ्रमणमा रहेका पाकिस्तानका सेना प्रमुख राहिल शरीफको पहलमा दुई देशका सैन्य प्रमुखबीच हटलाइन सेवा सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
यसै महिनाको सुरुवातमा पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले छिमेकी मुलुकसँग शान्तिपूर्ण सम्बन्ध बनाउनु नै पाकिस्तानको वैदेशिक नीतिको प्रमूख हिस्सा रहेको बताएका थिए । त्यसैगरी अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले पाकिस्तानमाथि आतंकवाद संरक्षण गरेको र हिंसा बढाउन भूमिका निर्वाह गरेको आरोप लगाएका थिए ।
पाकिस्तानले भने उक्त आरोप बारम्बार अस्वीकार गर्दै आएको थियो ।
अफगानिस्तानले शान्तिवार्ताका लागि तालिवानी विद्रोहीसँग वार्ता गर्ने पहल गरिरहेकै बेला शुरु भएको हटलाइन सेवापछि शान्तिवार्ताका लागि तालिवानको भूमिका कस्तो रहन्छ भन्ने रहस्यको बिषय बनेको छ । (एजेन्सी)