साउदी अरबसगै बराईनद्धारा ईरानसँगको सबै कूटनीतिक सम्बन्ध तोडेको घोषणा

 एक धर्मगुरुलाई मृत्युदण्ड दिएपछि उत्कर्षमा पुगेको साउदी अरब र ईरानबीचको तीक्त सम्बन्ध अन्ततः कूटनीतिक टकरावमा पुगेको छ । शिया धर्मगुरु निम्र अल निम्रलाई मृत्युदण्ड दिएकोमा ईरान आक्रोशित बनिरहेकै बेलामा साउदी अरबले ईरानसँगको सबै कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । 
यसैगरी बराईनले पनि ईरानसँगको सबै कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । 
साउदी विदेशमन्त्री अदेल अल जुबेरले सबै ईरानी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र साउदी अरबिया छाड्न निर्देशन दिएको बताए । यसैगरी उसले ईरानमा रहेका आफ्ना कूटनीतिज्ञलाई पनि फिर्ता बोलाएको छ ।
यसअघि ईरानका शीर्ष धार्मिक नेता अयातुल्ला अली खामेनीले निम्रलाई मृत्युदण्ड दिएकामा साउदीको तीखो आलोचना गर्दै दैवले नै बदला लिने टिप्पणी गरेका थिए । सुन्नी शासकको तीब्र आलोचना गरेकै बहानामा मृत्युदण्ड दिनु कत्तिको जायज हो ? उनले प्रश्न गरेका छन् ।
कहिल्यै हतियारबन्द आन्दोलनका लागि नउक्साएका धर्मगुरुलाई मृत्युदण्ड दिएको भन्दै ईरानसहित अरब क्षेत्रमा शिया धार्मिक समुदायले साउदीको आलोचना गर्दै प्रदर्शन गरेका छन् । ईरानमा त साउदी दूतावासमै पसेर प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए ।
अमेरिकाले पनि यो मृत्युदण्डले अरब क्षेत्रमा नश्लीय तनाव बढ्ने खतरा बढेको जनाएको छ । (एजेन्सी)