कांग्रेस नेता पूर्णबहादुर खड्काको सन्धिखर्कमा राजनैतिक भेटघाट ! जीवनमा कहिल्यै मन्त्री पदमा नफर्कने घोषणा

वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले जीवनमा कहिल्यै मन्त्री पदमा नफर्कने घोषणा गरेका छन् । 


महाधिवेशन संघारमा जिल्ला दौडाहको क्रममा अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राजनैतिक भेटघाटका लागि आएका कांग्रेस नेता खड्का सो कुरा बताएका हुन् । 


कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा नेतृत्वको सरकारमा विभिन्न समय महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिएका उनले मंगलबार सन्धिखर्कमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अब मन्त्री बन्न सांसद नलड्ने उद्घोष गरे ।


आठवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले फेरि मन्त्री हुने इच्छा छैन बाहिरै बसेर विकास र आर्थिक क्रान्तिबाट देशलाई विकसित राष्ट्र बनाउन लाग्ने दाबी गरेका हुन् ।


सुशील कोइरालाले प्रधानमन्त्री पदमा उम्मेदवार दिएपछि असन्तुष्ट भएर पार्टी सहमहामन्त्रीबाट राजीनामा दिएका खड्का महाधिवेशन संघारमा जिल्ला दौडाहमा हिँडेका छन् ।


सुशीलले प्रधानमन्त्रीका लागि फेरि उम्मेदवारी दिनु पार्टी, जनता र राष्ट्रका लागि दुर्भाग्य भएको उनले बताए । ‘संविधान बनेपछि एक सेकेन्ड पनि सरकारमा बस्दिनँ भनेका सुशीलले ठूलो भूल गरे,’ उनले भने, ‘मैले प्रधानमन्त्री होइन, राष्ट्रपति हुनुहोस् भन्दा नमानेकाले अन्तर्राष्ट्रियस्तरमै छवि खस्केको छ ।’ तीन दलबीच भएको भद्रसहमति लागू नगर्दा आफूले राजीनामा दिएको स्पष्ट गर्दै उनले १३ औं माधिवेशनपछि पार्टी रूपान्तरण हुने बताए ।


खड्काले जिल्ला दौडाहमा होटलमा बस्ने र खाने नगरेको बताए । देशमा भएको जातीय विभेदको अन्त्य गर्न आफूले अब सधैँ दलित जनजातिका घरमा खाना खाने र रात बिताउने गरेको पनि उनले बताए ।