परमाणु परीक्षण गर्ने उत्तर कोरियाली कदमको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले एक स्वरमा निन्दा गरेको छ । बुधबार मात्र उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेको थियो । यो उसको सन् २००६ यताको चौथो परमाणु परीक्षण हो ।
परमाणु परीक्षण गरेर उत्तर कोरियाले राष्ट्रसंघको अघिल्ला प्रस्तावहरुको उल्लंघन गरेको सुरक्षा परिषदले जनाएको छ । यो घटनाका कारण उत्तरमाथि थप प्रतिबन्ध लगाइने भएको छ । अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिका लागि यो झन् ठूलो खतरा बनेको सुरक्षा परिषदको दावी छ ।
उता उत्तर कोरियाले भने पहिलो हाइड्रोजन बम परीक्षण गरेको र यो आफूसँग रहेका परमाणु हतियारभन्दा निकै क्षमतावान रहेको जनाएको छ । अमेरिकाले भने उत्तर कोरियाले विश्व जगतलाई यसैगरी उक्साउने काम गरिरहे उसको हालत झन् खराब बन्ने चेतावनी दिएको छ ।
अमेरिकी सुरक्षा सल्लाहकार सुसैन राइसले उत्तर कोरियाविरुद्ध कस्तो कारवाही गर्न सकिन्छ भन्नेमा चिनियाँ अधिकारीहरुसँग् छलफल गरिरहेको पनि ह्वाइटहाउसका प्रवक्ताले जनाएका छन् ।
५ दशमलव १ म्याग्नेच्यूडको थर्कन महशूस हुने गरी उत्तरले गरेको परीक्षणको दक्षिण कोरिया, जापानलगायत देशले पनि निन्दा गरिसकेका छन् ।
-एजेन्सी