सन्धिखर्क नगरपालिकामा कर्मचारीको पदपूर्ती नहुँदा सेवाग्राही मारमा

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम / रिपोर्टर्स क्लव अर्घाखाँची) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा दरबन्दी अनुसार कर्मचारी पदपूर्ति हुन् नसक्दा सेवाग्राही मारमा परेका छन् । कर्मचारीको पदपूर्ति नभएका कारण नगरपालिकाको हरेक काम कार्वाहीमा प्रत्यक्ष असर पुगेको छ ।


रिपोर्टर्स क्लव अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले नगरपालिकामा कर्मचारी पदपूर्ति गर्न नसक्दा समस्या उत्पन्न भएको भन्दै कर्मचारीको पदपूर्ति गरेपछि सहजता आउने बताएका हुन् । 
जोशीले सन्धिखर्क नगरपालिकाले देखाउने गरि काम गर्न नसकेको भन्दै सबैको सहयोग गरे आगामी दिनमा नमूना योग्य कामहरु गरेर देखाउने बताए । 


दिनानु दिन नगरपालिकाको जनसंख्या बढिरहेको छ र  नगरपालिकाको कार्यालयमा कामको चापसमेत थेगिनसक्नु रहेको छ । बिभिन्न शाखाहरु छन् तर शाखामा कर्मचारी भने अभाव छ ।
यसैगरी सार्वजनिक सुनुवाइ कार्यक्रममा बक्ताले  सन्धिखर्क नगरपालिकालाई नमूना नगरपालिकाको रुपमा विकास गरिनुपर्ने बताएका छन् । उनीहरुले जिल्लाको एक मात्र सन्धिखर्क नगरपालिकालाई समृद्ध बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । 
सार्वजनिक सुनुवाइमा बोल्ने बक्ताले  स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा कर्मचारीहरुलाई ठूलो बोझ थपिएको बताएका हुन ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पूर्वाधार विकासले मात्र समग्र विकास नहुने भन्दै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिनुपर्ने बताए । 
यस्तै स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले शहरी सौन्दर्यताका लागि सरसफलाई महत्वपूर्ण पाटो भएको भन्दै सरसफाइमा जोड दिनुपर्ने बताइन । 


नेपाली कांग्रेसका जिल्ला सदस्य कृष्ण खनालले सन्धिखर्क नगरपालिकालाई नमूना योग्य नगरपालिका बनाउनका लागि राजनीतिक पार्टीहरु इमान्दार बन्नु पर्ने बताए । नेकपा एमालेका सचिव रामबहादुर चौहानले सन्धिखर्क नगरपालिका भित्र मनपरि ढंगले जग्गा प्लटिङ्ग र अव्यवस्थित शहरीकरण भएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने बताए । एमाओवादीकी कोषाध्यक्ष छमकुमारी खनाल चिनारीले लक्षित वर्गको रकम ठिक ठाउँमा प्रयोग नभइरहेको भन्दै लक्षित वर्गको रकम लक्षितवर्ग समक्ष पु-याउनु पर्ने बताइन । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले नगरपालिकाबाट भएका कामकारवाहीलाई ठिक ढंगले अनुगमन नगर्दा काम प्रभावकारी हुन नसकेको बताए ।


सार्वजनिक सुनुवाइमा कार्यक्रममा राप्रपाका प्रतिनिधि संसोधिन मियाँ, नयाँ शक्ति अभियानका जिल्ला संयोजक खिमबहादुर विक, परिवार दलका जिल्ला अध्यक्ष डिल्लीराज भुसाल, उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी बार एसोसियसनका अध्यक्ष केवि भुसाल, शिक्षक युनियनका जिल्ला अध्यक्ष इश्वरी प्रसाद भुसाल, सन्धिखर्क वडा नं. १० का संयोजक नारायण अर्याल, महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालका जिल्ला अध्यक्ष जानका वञ्जाडे, नागरिक समाजको तर्फबाट विजुला रायमाझी, एकल महिला जिल्ला सञ्जालका अध्यक्ष खगेश्वरा बस्याल अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिव राधा आचार्य लगायतले बोल्दै नगरपालिकाबाट हुने काम प्रभावकारी हुनु पर्ने जोड दिएका थिए । 


साथै कार्यक्रम रिपोर्टर्स क्लव अर्घाखाँचीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष बीरेन्द्र केसीको स्वागत मन्तव्य र अर्जुन भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
तस्बिरहरु: फेसबूकबाट