सिरियाली संचारमाध्यमका अनुसार पूर्वी सहर दीर अल जुरमा भएको भिडन्तका क्रममा उग्रवादी संगठन इस्लामिक स्टेट (आइएस) ले करिब ४०० जनालाई अपहरण गरेको छ ।
सरकार नियन्त्रित क्षेत्रमा आइएसले गरेको हमलाका क्रममा सो अपहरण भएको बताइएको छ ।
सिरियाको घटनाक्रमलाई अवलोकन गर्दै आएको बेलायतस्थित संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स का अनुसार हमलामा ८५ सर्वसाधारण र ५० सिरियाली सैनिक मारिएका छन् ।
सरकारी समाचार एजेन्सी सना ले बाघालिए क्षेत्रमा ३०० आम नागरिक मारिएको जनाएको छ ।
सिरियन अब्जरभेटरीका अनुसार अपहरण गरिएकाहरुमा अधिकांश महिना र बालबालिका छन् । आइएसले सरकारी सेनाका परिवारलाई निशाना बनाएको पनि सो संस्थाको दाबी छ ।
सिरियाको सरकारी मिडियाका अनुसार दीर अल जुर नजिकैको एउटा गाउँमा आइएसले नरसंहार गरेको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघले भिडन्त भएको क्षेत्रको अवस्था नाजुक रहेको जनाएको छ । राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयका अनुसार सो क्षेत्रमा करिब दुई लाख नागरिक द्वन्द्वको चपेटामा परेका छन् । (एजेन्सी)