पाकिस्तानको एक विश्वविद्यालयमा शंकास्पद तालिबानद्वारा अन्धाधुन्द आक्रमण, १९ जनाको मृत्यु

पाकिस्तानको एक विश्वविद्यालयमा शंकास्पद तालिबानी बन्दुकधारीले अन्धाधुन्द आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।
पकिस्तानको उत्तर पश्चिम पख्तुनख्वाह प्रान्तको चारसदा सहरमा अवस्थित बादशाह खान विश्वविद्यालयमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।
आक्रमणमा कम्तिमा ५० जना घाइते भएका छन् । त्यहाँको प्रहरीले भने ४ जना बन्दुकधारीको पनि मृत्यु भएको पुष्टि गरेको छ ।
तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत् विश्वविद्यालयमा स्थानीय समयअनुसार बिहान साढे ९ बजे अन्धाधुन्द गोलाबारी गर्दै आक्रमणकारी विश्वविद्यालयमा प्रवेश गरेका थिए ।
करिब ४ घन्टासम्म भएको गोलाबारीमा थुप्र्रै हताहती भएको बताइए पनि क्षतिको एकीन विवरण आइसकेको छैन । अहिले विश्वविद्यालय पाकिस्तानी सेनाको नियन्त्रणमा आइसकेको जनाइएको छ ।
यसअघि, सन् २०१४ को डिसेम्बरमा तालिबान विद्रोहीले पेसावरस्थित एक आर्मी पब्लिक विद्यालयमा आक्रणम गर्दा १ सय ३० जना विद्यार्थीको मृत्यु भएको थियो । (एजेन्सी)