बेलायतमा पूर्वरुसी जासुस अलेक्जेन्डर लित्भिनेन्कोको हत्यामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको संलग्नता हुन सक्ने रिपोर्ट सार्वजनिक भएको छ ।
लित्भिनेन्कोको हत्यामा सम्भवतः रुसी राष्ट्रपति पुटिनको स्वीकृति रहेको बेलायतस्थित सार्वजनिक छानबिन आयोगले दाबी गरेको हो ।
लित्भिनेन्कोलाई ‘पोलोनियम-२१०’ विष दिएर हत्या गर्ने विषयमा पुटिनले प्रतिशोधका कारण हस्ताक्षर गरेको हुन सक्ने आयोगले उल्लेख गरेको छ ।
लित्भिनेन्कोकी श्रीमतीले रिपोर्टको स्वागत गर्दै पुटिनलाई भ्रमणमा रोक लगाउँदै रुसमाथि प्रतिबन्ध लगाउन माग गरेकी छन् ।
रुसी विदेश मन्त्रालयले भने आपराधिक मामलालाई जाँचबुझ आयोगले राजनीतिकरण गरेको भन्दै रिपोर्टमाथि आपत्ति जनाएको छ ।
बेलायतमा पलायन भएर गएपछि लित्भिनेन्को क्रेमलिनको कटु आलोचक बनेका थिए ।
सन् २००६ मा ४३ वर्षीय लिल्भिनेन्कोलाई लन्डनमा विष खुवाएर हत्या गरिएको थियो । त्यसपछि हत्याकान्डको अनुसन्धान अगाडि बढाइएको थियो । (एजेन्सी) –