फ्रांन्सका राष्ट्रपति फ्रांस्वा ओलान्द भारत भ्रमणमा पुगेका छन् । भारतको गणतन्त्र दिवसको विशेष अतिथिका रुपमा भारत पुगेका फ्रान्सेली राष्ट्रपति ओलान्द र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच परमाणु भट्टी र लडाकु बिमान बारेमा सम्झौता हुने अपेक्षा गरिएको छ ।
यी दुई एजेन्डाका विषयमा भारत र फ्रान्सबीच लामो समयदेखि छलफल भइरहेकाले अहिले सम्झौतामा हस्ताक्षर हुने आंकलन गरिएको छ ।
यी दुई मुद्दामा ३० अर्व डलर बराबरको सम्झौता हुने अनुमान बिश्लेषकहरुको छ । दुई मुलुकबीच सम्झौता भए फ्रान्समा रहेका ब्यापारीहरुको मन जित्न राष्ट्रपति ओलान्द सफल हुनुहनेछ भने फ्रान्सका हजारौं जनताले रोजगारी पाउनेछन् ।
ओलान्दको शासनकालमा फ्रान्समा बेरोजगारी दर ९ दशमलव ७ प्रतिशतले बढेर १० दशमलव १ प्रतिशत पुगेको छ ।
भारत र फ्रान्सबीच सदियौंदेखिको सम्बन्ध प्रगाढ हुनुका साथै दुई देशबीच बेलाबेलामा उर्जा र सुरक्षा सम्बन्धी सम्झौता पनि हुने गरेको छ । ओलान्द तीन दिनसम्म भारतमा रहनुहुने छ । (एजेन्सी)