आतंकवादी संगठन आइएसलागि ३० हजार भारतीयसँग सम्पर्कमा

अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले भारतमा आफ्नो संजाल विस्तार गर्न चाहेको छ । सो संगठनले यसका लागि ३० हजार भारतीयसँग सम्पर्क गरिसकेको बताइन्छ ।
समाचार एजेन्सीहरुका अनुसार आइएसले समवेदनशील सरकारी डाटालाई निशाना बनाउन चाहेको छ । यसका लागि आइएसले भारतीय ह्याकरसँग सम्पर्क गर्दै आकर्षक रकमको प्रस्तावसमेत गरेको बताइन्छ ।
आइएसले सो कार्यका लागि प्रत्येक ह्याकरलाई १० हजार अमेरिकी डलरभन्दा बढीको तलव प्रस्ताव गरेको छ । भारतीय ह्याकरहरुका लागि यो अहिलेसम्मकै आकर्षक प्रस्ताव रहेको बताइन्छ ।
बेलायती संचारमाध्यम डेली मेलले जनाएअनुसार आइएसले सोशल नेटवर्किङ बेभसाइट ट्वीटर र फेसबुकबाट त्यस्ता व्यक्तिको खोजी गर्न ह्याकरहरुलाई भनेको छ, जो आइएससँग काम गर्न वा सक्रिय सदस्य बन्न चाहन्छन् ।
सुरक्षा विशेषज्ञलाई उद्धृत गर्दै डेली मेलले जनाएअनुसार आइएसले करिब ३० हजार भारतीयसँग सम्पर्क गरिसकेको छ । भारतमा आफ्नो पहुँच बढाउनका लागि आइएसले निकै आकर्षक आर्थिक प्याकेजको घोषणा गरेको छ । आइएसले सम्पर्क गरेका ३० हजारमध्ये केहीले आइएसको प्रस्ताव स्वीकार गरेको डेली मेलले दाबी गरेको छ ।
आइएसले भर्ती गरेका ती ह्याकरहरु सिरियामा रहेका आइएसका नेताहरुसँग नियमित सम्पर्कमा रहने गरेको बताइन्छ । (एजेन्सी)