युरोपेली मुलुक स्वीडेनले अस्वीकृत ८० हजार आप्रवासीलाई देशबाहिर निकाल्न चार्टड विमानहरु प्रयोग गर्ने

मध्यपूर्व र उत्तरअफ्रिकी मुलुकबाट ओइरिएका आप्रवासीको समस्याबाट घेरिएको युरोपेली मुलुक स्वीडेनले शरणार्थीका लागि निवेदन दिएका करिब ८० हजार आप्रवासीको आवेदन अस्वीकृत गरिदिएको छ ।
अस्वीकृत गरिएका आप्रवासीलाई देशबाहिर निकाल्न चार्टड विमानहरु प्रयोग गरिने स्वीडेनका आन्तरिक मामला मन्त्री एन्डर्स यिजम्यानले जनाएका छन् । स्वीडेनमा सन् २०१५ मा मात्रै करिब एक लाख ६३ हजार आप्रवासीले शरणका लागि आवेदन दिएका थिए ।
युरोपमै उच्चतम प्रतिव्यक्ति आय भएको मुलुक स्वीडेनमा रहन शरणार्थीको ठूलो आकर्षण हुने गर्दछ । शरण चाहनेमध्ये करिब ५५ प्रतिशतको आवेदन भने स्वीकृत गरिएको सरकारले जनाएको छ ।
अर्कोतर्फ ग्रीसले भने आफ्नो देशमा थुप्रिएका आप्रवासीलाई अन्यत्र पुनस्र्थापित गराउन युरोपेली आयोगले असहयोग गरेको आक्षेप लगाएको छ । गत वर्ष गरिएको बचन पालना नभएको उसको गुनासो उसको छ । आन्तरिक युद्ध र संघर्षबाट विस्थापित पारिएकाहरु चिसो ठण्डीमा कठिन यात्रा पार गर्दै युरोप पुगे पनि त्यत्तिकै अलपत्र परेका छन् । अवैध ढंगले युरोप छिर्न खोज्दा सयौं शरणार्थीले अकालमा ज्यान गुमाइरहेका छन् । (एजेन्सी)