जासुसीको आरोपमा लेबनानमा पक्राउ गरिएको एउटा गिद्दलाई राष्ट्रसंघको हस्तक्षेपपछि रिहा

जासुसीको आरोपमा लेबनानमा पक्राउ गरिएको एउटा गिद्दलाई संयुक्त राष्ट्रसंघको हस्तक्षेपपछि रिहा गरिएको छ ।
उक्त गिद्दलाई इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।
इजरायली अधिकारीहरुले गिद्द रिहा भएको पुष्टि गरेका छन् । करिब दुई मिटर लामो पँखेटा भएको सो गिद्द इजरायली सीमाबाट उडेर लेबनानतर्फ प्रवेश गरेको थियो । गत मंगलबार लेबनानी ग्रामिण क्षेत्रमा नियन्त्रणमा लिइएको सो गिद्दको पुच्छरमा एउटा उपकरणसमेत पाइएको थियो । सोही उपकरण भएको आधारमा उक्त गिद्द इजरायली जासुस रहेको आशंका गरिएको थियो ।
राष्ट्रसंघीय अधिकारीहरुका अनुसार उक्त गिद्दको पुच्छरमा लगाइएको उपकरण मध्यपूर्वमा गिद्दको प्रजातिलाई जोगाउन जारी एक अभियान अन्तर्गत कै एक हिस्सा थियो । वन्यजीव अधिकारीहरुका अनुसार उक्त गिद्द गत वर्ष स्पेनबाट खरिद गरिएको थियो । सो गिद्दलाई एक महिनाअघि इजरायलको नियन्त्रणमा रहेको गोलन हाइट्स क्षेत्रमा छाडिएको थियो ।
इजरायलको तेल अभिव विश्वविद्यालयले सो गिद्दमा जडान गरिएको उपकरणका माध्यमबाट यसको उडानमा निगरानी गर्दै आएको थियो ।
 गिद्दको खुट्टामा सो विश्वविद्यालयको नाम लेखिएका कारण पनि लेबनानीहरुलाई जासुस भएको आशंका गर्न सहज भएको बताइन्छ ।
सो गिद्द जासुसी मिसनमा नभएको तथ्य प्रकाशमा आएपछि त्यसलाई रिहा गरिएको लेबनानी अधिकारीहरुले समेत जनाएका छन् । सामान्य चोटबाट ग्रस्त गिद्दको उपचार पनि गरिएको जनाइएको छ । (एजेन्सी)