रुसी लडाकु विमानले हवाई सीमा उल्लंघन गरेको भन्दै टर्कीले रुसी राजदूतसमक्ष आपत्ति

रुसी लडाकु विमानले हवाई सीमा उल्लंघन गरेको भन्दै टर्कीले रुसी राजदूतसमक्ष आपत्ति जनाएको छ ।
टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी रुसको एसयु ३४ लडाकु विमानले हवाई सीमा उल्लंघन गरेको भन्दै टर्कीको अंकारामा रहेका राजदूतलाई बोलाएर आपत्ति जनाइएको उल्लेख गरेको छ ।
गत वर्षको नोभेम्बरमा पनि टर्कीले रुसी विमानमाथि हवाई सीमा उल्लंघनको आरोप लगाएको थियो । चेतावनीलाई अस्वीकार गर्दै सीमाभित्र प्रवेश गरेको भन्दै टर्कीले रुसी विमान सिरियाको सीमामा खसालेको थियो ।
सोही बिषयलाई लिएर टर्की र रुसबीचको सम्बन्ध बिग्रिरहेकै बेला रुसले टर्कीको आकाशमा सीमा उल्लंघन गरी गत शुक्रबार लडाकु विमान उडाएको आरोप टर्कीले लगाएको छ ।
रुसी रक्षा मन्त्रालयले भने टर्कीको सो आरोपको खण्डन गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेनकोभले पत्रकारहरुसँग भने, रुसी विमानले टर्कीको हवाई सीमा उल्लंघन गरेको छैन । यो केवल रुसविरुद्ध दुष्प्रचार गर्ने टर्कीको नीतिकै एक हिस्सामात्र हो । (एजेन्सी)