सिरियाको एक मस्जिद नजिकै गराइएको शृंखलाबद्ध बम बिस्फोटमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । सिरियाको दमास्कसको दक्षिणी क्षेत्रमा रहेको मस्जिद छेउ भएको बिस्फोटमा अन्य एकसय जनाभन्दा बढी घाइते भएका छन् ।
शिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा गराइएको विस्फोटको जिम्मा कसैले लिएको छैन । यद्यपी इस्लामिक अतिवादी संगठन आईएसले विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ ।
विस्फोटका कारण मस्जिद वरिपरिका सवारी साधन र केही घरमा क्षति पुगेको छ ।
सिरियाली सरकारी समाचार एजेन्सी सानाका अनुसार पहिलो विस्फोट एउटा कारमा भएको थियो । मस्जिद नजिकैको बस स्टेशनमा सो विस्फोट गराइएको हो ।
विस्फोट भएको क्षेत्रमा मानिस जम्मा हुन थालेपछि दुई आत्मघाती विस्फोट गराइएको बताइन्छ ।
सिरिया सरकार र विपक्षीबीच संयुक्त राष्ट्रसंघको पहलमा जेनेभामा शान्ति वार्ताको तयारी भइरहँदा यो विस्फोट भएको हो । (एजेन्सी)