सन्धिखर्क नगरपालिका स्तरिय खोप समन्वय समितीको योजना तर्जुमा वैठक सम्पन्न

डिल्लीराज घिमिरे
सन्धिखर्क, अर्घाखाँची। जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा दादुरा रुवेला तथा पोलियो खोप अभियान २०७२ अन्तर्गत सन्धिखर्क नगरपालिका स्तरिय खोप समन्वय समितीको योजना तर्जुमा वैठक सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका प्रमुख रामजी जोसीको अध्यक्ष्यता रहेको कार्यक्रमको जिल्ला खोप अघिकृत राम प्रसाद गौतमको संयोजक र जनस्वास्थ्य निरक्षक गणेश राज पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत स्वाथ्यकर्मीहरु सहित जिल्लामा रहेका विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाको प्रतिनिधित्व रहेको थियो । 
स्थानिय साधनको पहिचान र परिचालन गर्नु नै यस कार्यक्रमको मुल उद्देश्य रहेको वताउदै दुई चरणमा राखिने खोपको कार्यक्रममध्ये पातलो वस्ती रहेका गावीस जलुके,सिद्धारा,सितापुर र सुवर्णखाललाई दोस्रो चरणमा राखिएको छ । यी चार गावीसको अतिरिक्त जिल्लाभर रहेका नगरपालिका र गावीसमा प्रथम चरणमा खोप कार्यक्रम सम्पन्न गरिने योजना रहेको विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरक्षक गणेश राज पौडेलले जानकारी गराउनु भएको थियो । 

– तस्वीरहरु: डिल्लीराज घिमिरे / अर्घाखाँची डटकम्