म्यानमारमा दशकौं लामो सैन्यशासन अन्त्यपछिको पहिलो ऐतिहासिक संसदसत्र सुरु

म्यानमारमा दशकौं लामो सैन्यशासन अन्त्यपछिको पहिलो ऐतिहासिक संसदसत्र सुरु भएको छ ।
नयाँ संसदले ५० वर्षभन्दा बढी समयपछि मुलुकको पहिलो प्रजातान्त्रिक सरकार चयन गर्नेछ ।
संसदमा आङ साङ सुचीको नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी)को बहुमत छ ।
गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा एनएलडीले ८० प्रतिशतभन्दा बढी सीटमा जित हासिल गरेको थियो । तर, संसदमा एक चौथाइ सीट र महत्वपूर्ण मन्त्रालय भने अझैपनि सेनाको नियन्त्रणमा रहिरहने छ ।
नयाँ संसदको पहिलो काम नयाँ राष्ट्रपति चयन हुनेछ । वर्तमान राष्ट्रपति थिन सेनको पदावधि आगामी मार्चसम्म रहेको छ ।
सुचीलाई भने उनको सन्तान विदेशी नागरिक रहेको बहानामा संवैधानिकरुपबाटै राष्ट्रपति हुनबाट बन्चित गरिएको छ ।
सुचीलाई सैन्य सत्ताले करिब दुई दशकसम्म घरमै नजरबन्दमा राखेको थियो । म्यानमारमा सन् १९६२ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता हत्याएको थियो ।
सन् १९९० मा बहुदलीय व्यवस्था पुनर्बहाली भइ गरिएको निर्वाचनमा पनि सुचीको पार्टीले नै निर्वाचन जितेको थियो । तर, सेनाले सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेको थियो । (एजेन्सी)