सिरियाको एलेप्पो शहरमा गत हप्तादेखि सरकारी सेना र बिद्रोहीबीच जारी भीडन्तका कारण ५० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।
रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसिआरसीले अझै धेरै मानिस विस्थापित हुन सक्ने चेतावनी दिएको छ । एलेप्पोमा पानीको आपूर्ति बन्द गरिएको भन्दै आइसिआरसीले त्यहाँको मानवीय अवस्था दयनीय बनेको जनाएको छ ।
इस्लामिक स्टेट आईएसको कब्जामा रहेको एलेप्पोमा सरकारी सेनाले नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।
यसक्रममा सरकारी सेनाले आईएस रहेको एलेप्पोको क्षेत्रलाई घेराबन्दी गरेको छ भने त्यहाँ खाद्यान्नलगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने मार्ग बन्द गरिएको छ । सिरियाली सेनालाई रुसी लडाकु विमानले साथ दिएका छन् ।
एलेप्पोबाट शरण खोज्दै टर्कीको सीमामा पुगेका ३० हजारभन्दा धेरै मानिस अलपत्र परेका छन् । उनीहरुलाई शरण दिन मानवअधिकारकर्मीले टर्कीसँग आग्रह गरेका छन् ।
एलेप्पोका तीन लाखभन्दा धेरै मानिस अहिलेको द्वन्द्वका कारण प्रभावित भएको र उनीहरु भोकमरीको चपेटामा पर्ने खतरा रहेको भन्दै राष्ट्रसंघले यसअघि नै चिन्ता व्यक्त गरेको थियो । (एजेन्सी)