सिरियाका राष्ट्रपति असदद्धारा विद्रोहीले कब्जा गरेका देशका सबै क्षेत्र फिर्ता लिएरै छाड्ने दृढता व्यक्त

सिरियाका राष्ट्रपति बशर अल असदले विद्रोहीले कब्जा गरेका देशका सबै क्षेत्र फिर्ता लिएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
समाचार संस्था एएफपीसँग कुरा गर्दै उनले विद्रोहीलाई आफ्नो शक्तिले मात्र हराउन भने केही समय लाग्न स्विकारेका छन् । विश्व शक्ति राष्ट्रहरुले एक साताभित्र संशस्त्र हिंसा बन्द गराउन सहमति जनाएकै समयमा असदको यो भनाइ बाहिर आएको हो ।
शान्ति वार्ताको समर्थन गर्दै असदले यही बहानामा अतिवादीविरुद्धको युद्ध भने नरोकिने पनि प्रष्ट गरे । अन्तर्राष्ट्रिय मध्यस्थतामा विद्रोही र सिरियाली सरकारबीच यही महिना सुरु भएको वार्ता २५ फेब्रुअरीसम्मका लागि स्थगित गरिएको छ ।
यता, संयुक्त राष्ट्र संघले भने आउँदो २४ घण्टाभित्र सिरियाको सबैभन्दा संकटग्रस्त क्षेत्रमा मानवीय सहायता सुरु गर्न सकिने अपेक्षा गरेको छ । राष्ट्र संघको अनुमानमा डेढ करोड सिरियाली मानवीय सहायताको पर्खाईमा रहेका छन् ।
उता, जर्मनीको म्युनिखमा अमेरिका, रुस र राष्ट्रसंघबीच सिरियामा एक साताभित्र हिंसात्मक संघर्ष रोक्ने सम्बन्धमा सहमति बनेको थियो ।
राष्ट्रपति बशर अल असदको तानाशाही शासन व्यवस्थाविरुद्ध सन् २०११ बाट शुरु भएको पाँच वर्ष लामो संघर्षका क्रममा करिब पाँच लाख सर्वसाधारण मारिएको तथ्यांक छ भने दशौं लाख मानिस घाइते बनेका छन् ।
लाखौलाख सिरयाली भूमिबाट पलायन भएर विभिन्न देशमा शरणार्थी बनिरहेका छन् । मृत्युको यो संख्या सिरयाली जनसंख्याको झण्डै १२ प्रतिशत मानिएको छ ।
सन् २००० मा सत्तामा आएका असदको शासनविरुद्ध शुरुमा त्यहाँका विपक्षीले मात्र संघर्ष थालेको भएपनि हाल सिरियामा आईएस जस्ता मुस्लिम अतिवादी संगठनको समेत प्रवेश भएको छ । जसका कारण सिरिया एउटा रणभूमिका परिणत हुँदै गएको छ ।  (एजेन्सी)